मलेसियाले सुरु गर्यो विदेशी श्रमिकका परिवारलाई सामाजिक सुरक्षा कार्यक्रम

मलेसियाले नेपालीसहित विदेशी श्रमिकका परिवारलाई पनि सामाजिक सुरक्षा कार्यक्रममा आबद्ध गर्न सुरु गरेको छ । कामदारले मलेसियाको भिसा प्रक्रियाका लागि स्वास्थ्य परीक्षण (बायोमेडिकल) गर्ने बेलामा नै परिवारको निकटतम व्यक्तिको नागरिकतासहित विवरण पेस गर्ने नियम मंगलबारदेखि कार्यान्वयनमा ल्याइएको हो ।

मलेसियाले सन् २०२० को जनवरी १ देखि मृत्यु तथा अंगभंग भएका विदेशी श्रमिक तथा तिनका परिवारलाई समेत आजीवन पेन्सन दिने योजनासहित सामाजिक सुरक्षा कार्यक्रम (सोस्को) सुरु गरेको थियो । १ जनवरी २०२० देखि सबै रोजगारदाताले अनिवार्यरुपमा सोस्कोमा आबद्ध गराउनुपर्ने बाध्यकारी व्यवस्था छ ।

नेपालका लागि मलेसियाका कार्यवाहक राजदूत मोहमद फाजिल अबु हसनका अनुसार यो प्रणालीमा श्रमिक व्यवस्थापनसँग सम्बन्धित मलेसियाका सबै विभागहरु जोडिएको छ ।

दूतावासका अनुसार बायोमेडिकल गर्ने बेला नै कामदारले दुई वर्ष म्याद भएको सक्कल राहदानी, वैदेशिक रोजगार विभागले कामदार भर्ना गर्न म्यानपावर कम्पनीलाई अनुमति दिने बेला जारी गरिएको लट नम्बर, भ्याक्सिन कार्ड र सोको कोड र परिवारका नजिकको सदस्य (एकाघर)को नागरिकता पेस गर्नुपर्छ । बायोमेडिकल गर्न मलेसियाले ३६ वटा मेडिकल संस्थालाई तोकेको छ । 

मृत्यु भएका श्रमिकको परिवारले आजीवन रुपमा दैनिक तलबको ६० प्रतिशतसम्म रकम पाउने व्यवस्था गरेको छ ।  मलेसियामा वार्षिक रुपमा करिब ४ सय नेपालीको मृत्यु हुने गरेको छ ।

मृतकका पत्नी वा पति नभएमा मृतक श्रमिकका सन्तानले २१ वर्षको उमेरसम्म दैनिक तलबको ४० प्रतिशत रकम पाउने व्यवस्था छ । आमाबाबुको दुवैको मृत्यु भएमा दैनिक तलबको ६० प्रतिशत नै पाउनेछ । यदि श्रीमान् वा श्रीमती वा छोराछोरी नभएमा बाबुआमा वा दाजुभाइ वा हजुरबा हजुरआमाले दैनिक तलब दरको ३० देखि ४० प्रतिशतका दरले हुन आउने रकम पनि प्राप्त गर्न सक्ने व्यवस्था रहेको  दूतावासले जनाएको छ ।



अस्थायी असक्षमता लाभ, स्थायी असक्षमता लाभ र आश्रित लाभ भने श्रमिक स्वयम् वा निजको परिवारजनले पाउने सुविधाहरु हुन् ।
दुर्घटनामा परी स्थायी रुपमा आयआर्जन गर्न असक्षम भएमा श्रमिकले आफ्नो दैनिक तलबको ९० प्रतिशतका दरले स्थायी असक्षमता लाभ प्राप्त हुनेछ । अस्थायी रुपमा काम गर्न असक्षम भएकाले भने आयआर्जन तोकिएका सर्तका अधिनमा रही तलबको ८० प्रतिशतसम्म लाभ प्राप्त गर्न सक्ने दूतावासले जनाएको छ ।

मृत्यु भएका श्रमिकको रोजगारदातालाई मलेसियामै वा श्रमिकको मुलुकमा दाहसंस्कार गर्दा तोकिए बमोजिमको अन्त्येष्टि खर्च उपलब्ध गराइन्छ । 



  • प्रकाशित मिति : जेठ ३१, २०७९ मंगलबार २०:३६:२५

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई farakdhar@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया