सुदूरपश्चिमका ८ जिसस प्रमुखमा कांग्रेस, एउटामा निर्वाचन हुन बाँकी

सुदूरपश्चिम प्रदेशका ८ जिल्लामा समन्वय समितिको निर्वाचन सम्पन्न भएको छ । बाजुराबाहेक प्रदेशका ८ जिल्लामा समन्वय समितिको निर्वाचन सम्पन्न भएको हो । समन्वय समितिको ८ वटै प्रमुखमा नेपाली कांग्रेसले जितेको छ । 

सुदूरपश्चिममा एमालेले भने उपप्रमुख पनि जित्न सकेको छैन । सोमबार सम्पन्न जिल्ला समन्वय समिति कैलालीमा सत्ता गठबन्धनबाट कांग्रेसका उम्मेदवार पदमबहादुर कलेल विजयी भए भने उपप्रमुखमा माओवादी केन्द्रका खगराज भुसाल निर्वाचत भए । सत्ता गठबन्धनलाई धनगढी उपमहानगरपालिकाका मेयर गोपल हमालले पनि साथ दिएका थिए ।
 
जिल्ला समन्वय समिति कञ्चनपुरको प्रमुख र उपप्रमुखमा कांग्रेसका उम्मेदवार निर्विरोध भए । प्रमुखमा कांग्रेसका दुर्गादत्त बोहरा र उपप्रमुखमा पनि कांग्रेसकै रामकुमारी राना निर्विरोध भएका हुन् ।

जिल्ला समन्वय समिति डडेल्धुरामा पनि नेपाली कांग्रेसका सबै उम्मेदवार निर्विरोध भए । मुख्य निर्वाचन अधिकृतको कार्यालयका अनुसार उम्मेदवारी दर्ताको समयसम्म कांग्रेसबाहेक अन्य दलबाट कसैको पनि उम्मेदवारी नपरेपछि कांग्रेसका उम्मेदवार निर्विरोध भए । समन्वय समितिको प्रमुखमा नेपाली कांग्रेसका गगनसिंह भण्डारी र उपप्रमुखमा कांग्रेसकै अमृता ठडालीमगर निर्विरोध भएका हुन् ।

जिल्ला समन्वय समिति डोटीका सबै पदाधिकारी पनि निर्विरोध भए । प्रमुखमा नेपाली कांग्रेसका लक्ष्मणबहादुर सिंह र उपप्रमुखमा कांग्रेसकै स्मृति चुनारा निर्वाचित भएका हुन् । बैतडीको प्रमुखमा गठबन्धनका साझा उम्मेदवार नेपाली कांग्रेसका खगेन्द्रसिंह धामी विजयी भए । यस्तै उपप्रमुखमा माओवादी केन्द्रका दमनबहादुर कुँवर विजयी भए ।
 
दार्चुलामा पनि गठबन्धनका उम्मेदवार विजयी भए । सत्ता गठबन्धन दलको तर्फबाट प्रमुखमा नेपाली कांग्रेसका महादेव बडू र उपप्रमुखमा नेकपा माओवादी केन्द्रका अमरसिंह ठगुन्ना विजयी भए । जिल्ला समन्वय समिति अछामको प्रमुखमा कांग्रेसका उम्मेदवार ललितबहादुर कुँवर निर्वाचित भएका भने उपप्रमुखमा पनि कांग्रेसकै दानमती बम शाही निर्वाचित भए ।
 
त्यस्तैगरी जिल्ला समन्वय समिति बझाङमा गठबन्धनका उम्मेदवार निर्विरोध भए । नेपाली कांग्रेसको नेतृत्वमा नेकपा माओवादी केन्द्र र नेकपा एकीकृत समाजवादी पार्टीसहितको गठबन्धनका उम्मेदवारहरुको प्यानल नै निर्विरोध भएको हो ।

नेकपा एमालेले उम्मेदवारी नै नदिएपछि गठबन्धनका उम्मेदवार निर्विरोध भएका हुन् । समन्वय समिति प्रमुखमा कांग्रेसका नरबहादुर बोहरा र उपप्रमुखमा एकीकृत समाजवादीका कृष्णबहादुर विष्ट निर्विरोध भएका मुख्य निर्वाचन अधिकृतको कार्यालयका सहायक निर्वाचन अधिकृत नरेन्द्र शर्माले जानकारी दिए ।





  • प्रकाशित मिति : जेठ ३१, २०७९ मंगलबार २१:२१:५८

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई farakdhar@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया