प्रमुख प्रतिपक्षी दल नेकपा एमालेले देशलाई भूराजनीतिक द्वन्द्वमा धकेल्ने कार्य भएको भन्दै आपत्ति जनाएको छ । बुधबार बसेको प्रतिनिधिसभाको बैठकमा एमालेका सांसद प्रदीप ज्ञवालीले अमेरिकी ‘स्टेट पार्टनरसीप प्रोग्राम’ (एसपिपी)सम्झौता गरेर सरकारले देशलाई भूराजनीतिक द्वन्द्वमा धकेल्ने कार्य गरेको भन्दै आपत्ति जनाएको हो ।
देशलाई भूराजनीतिक द्वन्द्वमा धकेल्ने कार्य एमालेलाई स्वीकार्य नरहेको उनको भनाइ छ । पूर्व परराष्ट्रमन्त्रीसमेत रहेका ज्ञवालीले भने, ‘सदनलाई, सरकारलाई, सिंगो देशलाई आग्रह गर्न चाहन्छु, नेपाललाई भूराजनीतिक द्वन्द्वमा धकेल्ने काम कुनै पनि हालतमा स्वीकार्य हुँदैन । हामी यो हुन दिँदैनौँ ।’
नेपालको सबै देशसँग मित्रता रहेको भन्दै उनले एसपिपी सम्झौताबारे सरकारले संसद्मा जवाफ दिनुपर्ने माग गरे । नेपाल सैन्य गठबन्धनमा जोडिँदा देशको परराष्ट्रनीति उल्लंघन हुने चेतावनी दिएका ज्ञवालीले भने, ‘एसपिपीका बारेमा मस्यौदा सार्वजनिक भएसँगै नेपालको सिङ्गो समाज त्रसित, आशंकित र गम्भीर भएको छ । कमसेकम यो लेभेलसम्म यो सरकार पुग्ला कसैले पनि अपेक्षा गरेको थिएन । कसको कमाण्ड, ब्यानरमा नेपाली सेनालाई अगाडि लिन खोजिँदैछ ? नेपालको एउटा छिमेकीको ढोकैनेर गएर सैनिक गतिविधि गर्न दिने ?’
कुनै देशको रणनीतिको साझेदार बन्न सक्दैनौँ भन्न नसक्नेलाई सरकारमा बसिरहन नैतिक अधिकार पनि नरहेको उनको भनाइ छ ।
फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई farakdhar@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।