ओपनिङ र फिनिसिङमा चुक्दा अमेरिकासँग हार्‍यो नेपाल

आइसिसी विश्वकप लिग–२ त्रिकोणात्मक एकदिवसीय सिरिजअन्तर्गत घरेलु टोली अमेरिकाविरुद्ध नेपाल ३९ रनले पराजित भएको छ । आज बिहान सम्पन्न खेलमा २ सय ४६ रनको विजयी लक्ष्य पछ्याएको नेपालले ४७.४ ओभरमा सबै विकेट गुमाएर २०६ रन मात्र बनाउन सक्यो । 

नेपालका आरिफ शेखले अर्धशतकीय पारी खेले । ७६ बलको सामना गरेका उनले तीन चौकाको मद्दतमा ६३ रन बनाए । आरिफले कठिन समयमा अर्धशतकीय पारी खेलेका हुन् । एकदिवसीय अन्तर्राष्‍ट्रियमा आरिफको यो तेस्रो अर्धशतक हो ।

त्यस्तै, सोमपाल कामीले ७२ बलमा एक चौकासहित ४७ रनको योगदान दिए पनि टिमलाई जित दिलाउन सकेनन् । उनी ४४ ओभरको अन्तिम बलमा रन आउटको सिकार भए ।

कुनै समय नेपाल ९३–५ को खराब अवस्थामा थियो । तर, छैटौं विकेटका लागि आरिफ र सोमपालबीच १ सय ६ रनको साझेदारी गरे । नेपालको तर्फबाट एकदिवसीयमा छैटौं विकेटका लागि यो हालसम्मकै ठूलो साझेदारी हो ।

सोमपाल र आरिफले कीर्तिमानी साझेदारी गरे पनि नेपाल फेरि फिनिसिङमा चुक्यो । अन्तिममा सात रन जोड्दा ५ विकेट गुमाएपछि नेपालले हार बेहोर्यो । नेपाल ४४.३ ओभरमा १९९–५ को अवस्थामा थियो । त्यसपछि नेपालको विकेट पतन रोकिएन ।  

अमेरिकाविरुद्ध देख खनाल ३४, आसिफ शेख १८, रोहितकुमार पौडेल १६, कुशल भुर्तेल १०, दीपेन्द्रसिंह ऐरी सात, मोहम्मद आदिल आलम चार र करण केसी एक रनमा आउट भए । अमेरिकाका लागि सौरभ नेत्रावल्कर, अलि खानले तीन/तीन, निसर्ग पटेल नोशुतोष केन्जिङ्गेले एक/एक विकेट लिए ।  



त्यसअघि मुसा क्रिकेट स्टेडियममा टस हारेर ब्याटिङको मौका पाएको अमेरिकाले निर्धारित ५० ओभर खेल्दै ७ विकेट गुमाएर २ सय ४५ रन बनाएको थियो । उसका लागि गजानन्द सिंहले ६० बलमा ५ चौका र एक छक्कासहित सर्वाधिक ५८ रन बनाए । त्यस्तै, सुशान्त मोदानीले ८३ बलमा सात चौकाको मद्दतमा ५४ रनको योगदान दिए ।

त्यस्तै, आरोन जोन्स ४३, साइतेजा मुक्कामल्ला ३६, नोशुतोष केन्जिङ्गे ९, कप्तान मोनांक पटेल चार रनमा आउट भए । नेपालका लागि करण केसीले तीन, कप्तान सन्दीप लामिछानेले दुई, दीपेन्द्रसिंह ऐरी र सोमपाल कामीले एक/एक विकेट लिए । विश्वकप लिग–२ मा नेपालको यो आठौं हार हो ।



नेपालले अहिलेसम्म १६ म्याच खेल्दा सातमा जित र एक खेल बराबरी खेलेको छ । १५ अंकका साथ नेपाल तालिकाको पाँचौं स्थानमा छ । २४ खेलमध्ये ११ मा जित र १२ खेलमा हारसहित २३ अंकका साथ अमेरिका चौथो स्थानमा छ । उसले एक खेलमा अंक बाँडेको छ ।  

  • प्रकाशित मिति : असार २, २०७९ बिहीबार ६:२९:५९

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई farakdhar@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया