जापानमा ३० वर्ष नाघेका नागरिकमा किन घट्दैछ विवाह गर्ने रुचि?

जापानमा ३० वर्ष नाघेका चारमध्ये एकजनाले आर्थिक बोझ, स्वतन्त्रता गुम्ने र घरको कामसँग सम्बन्धित समस्याका कारण विवाह गर्न चाहना नराख्ने गरेको सरकारी सर्वेक्षणले जनाएको छ । सर्वेक्षणले गत वर्ष जापानमा विवाहको संख्या ५ लाख १४ हजारमा झरेको देखाएको छ, जुन सन् १९४० को दशकमा दोस्रो विश्वयुद्धको अन्त्यपछिको सबैभन्दा कम हो ।

दोस्रो विश्वयुद्धपछि जापानमा बेबी बूम भएको थियो । यद्यपि, यो १९४७  देखि १९४९ सम्म मात्र दुई वर्षसम्म चलेको थियो । दोस्रो बेबी बूम सन् १९७१ देखि १९७४ सम्म चलेको थियो, यद्यपि जापानको जनसंख्या चिन्ताजनक रूपमा घट्दै गएको छ ।

सन् २०१९ मा देशको जनसंख्या २ लाख ७६ हजारले घटेको एक प्रतिवेदनले जनाएको छ । सरकारले २० र ६० वर्ष उमेर समूहका २० हजार व्यक्तिको नमूना प्रतिक्रियापछि यो अध्ययन गरेको हो ।

५४ प्रतिशत पुरुष र ६२ प्रतिशत महिलाले ३० वर्षको उमेरमा विवाह गरेको सर्वेक्षणले देखाएको छ । यी निष्कर्षहरू लैंगिक  समानतासम्बन्धी सरकारको श्वेत पत्रको अंश हुन् । 

पुरुषभन्दा बढी महिलाले घरको काम, बाल हेरचाहमा संलग्न हुन नचाहनु र समग्रमा आफ्नो स्वतन्त्रता गुमाउन नचाहेका कारण उनीहरू वैवाहिक बन्धनमा गाँसिन नचाहेको प्राप्त विवरणहरूमा जनाइएको छ । पुरुषहरूले आर्थिक क्षमताको अभाव र जागिरको असुरक्षा नै विवाह नगर्नुको प्रमुख कारण रहेको बताए ।

जापान धेरै वर्षदेखि वृद्धावस्थासँग लडिरहेको छ । राष्ट्रसंघको एक प्रतिवेदनअनुसार जापान विश्वमै सबैभन्दा बढी वृद्धवृद्धा जनसंख्या भएको देश हो । सन् २०५० सम्म यो अग्रता कायम रहनेछ ।  





  • प्रकाशित मिति : असार २, २०७९ बिहीबार ७:४१:४१

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई farakdhar@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया