महिला कर्मचारीसँग काम गर्न असहज हुन्छ भन्ने वडाध्यक्षले मागे माफी

महिला कर्मचारीबाट काम गर्न अप्ठ्यारो हुने भन्दै पुरुष वडा सचिव माग गर्ने खोटाङको हलेसी तुवाचुङ नगरपालिका–१० का वडाध्यक्ष अर्जुनकुमार पुरीले माफी मागेका छन् ।

प्रेस विज्ञप्ति जारी गरी उनले लैङ्गिक विभेद गर्ने कुनै नियत नभए पनि उनले भाषा प्रयोगमा भूल भएको भन्दै माफी मागेका हुन् । महिलाप्रति वडाको साथ‚ सहयोग र उच्च सम्मान रहने पनि पुरीले उल्लेख गरेका छन् । 

‘सामाजिक सञ्जालहरूमा आए जस्तो महिला भएकै कारण काम गर्न सक्नुहुन्न भन्ने आशय पटक्कै होइन, भूलवश त्यस्तो भाषा प्रयोग हुन गयो। हाम्रो नियत सही हुँदाहुँदै पनि प्रयोग भएको भाषाले पर्न गएको असरप्रति आलोचित हुँदै क्षमायाचना गर्दछु,’ विज्ञप्तिमा उल्लेख छ ।

वडाध्यक्ष पुरीले दुर्गम ठाउँमा रहेको नवलपुरमा साताको एक दिन वडा कार्यालयले सेवा दिँदै आएकाले त्यस ठाउँमा जान आउन महिला कर्मचारीलाई अप्ठ्यारो होला कि भनेर पुरुष कर्मचारी माग गरिएको प्रष्टीकरण दिएका छन् ।

वडाध्यक्ष पुरीले ३० जेठमा वडा समितिको बैठकबाट निर्णय गराएर महिला वडासचिवको ठाउँमा पुरुष वडासचिव पठाउन माग गरी नगरपालिका कार्यालयमा पत्र पठाएका थिए ।  






  • प्रकाशित मिति : असार २, २०७९ बिहीबार १२:३४:२०

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई farakdhar@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया