प्रदेश १ का पूर्वमुख्यमन्त्री शेरधन राईले आफ्नो कार्यकालमा प्रदेशको नामाकरण गर्न नसकेकोमा अफसोच लागेको बताएका छन् । बिहीबार विराटनगरमा पत्रकार सम्मेलन गर्दै पूर्वमुख्यमन्त्री राईले यस्तो बताएका हुन् ।
उनले तत्कालीन नेकपा रहँदा पार्टीभित्रको आन्तरिक कारणले दुईतिहाई बहुमत हुँदा पनि प्रदेशको नामाकरण गर्न नसकिएको दाबी गरे ।
तत्कालीन नेकपामा माओवादी खेमा जातीय पहिचानका आधारमा प्रदेशको नामाकरणको पक्षमा थियो । पूर्वमुख्यमन्त्री राईले सोही किचलोका कारण नामाकरण गर्न नसकिएको इंगित गरेका हुन् ।
उनले प्रदेशसभाको चालू अधिवेशनबाटै आफ्नो पार्टी नेकपा (एमाले)ले नामाकरणका विषयमा औपचारिक रुपमै छलफल थालिसकेको बताउँदै सत्तारुढ नेपाली कांग्रेसले साथ दिए आधा घण्टामै टुंगिने दाबी गरे ।
उनले एमालेभित्र नामको समस्या नभएको बताउँदै कांग्रेसले सहयोग गरेमा एमालेले संसदीय दलमा आधा घण्टामै नाम टुंग्याउने बताए ।
एमाले र नेपाली कांग्रेस सबैलाई स्वीकार्य हुनेगरी भौगोलिक पहिचानको आधारमा नामाकरण गर्नुपर्ने पक्षमा रहँदै आएका छन् ।
तर, सत्तारुढ दल माओवादी केन्द्र, नेकपा (एस), जसपा र संयुक्त लोकतान्त्रिक राष्ट्रिय मञ्च प्रदेश नामाकरणमा जातीय पहिचानसमेत जोड्नुपर्ने पक्षमा छन् ।
फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई news@farakdhar.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, टिकटक, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।
0