कम्युनिष्ट पार्टीहरू फेरि एकजुट हुनुपर्छ : वामदेव गाैतम

राष्ट्रियसभाका सांसद वामदेव गौतमले आफू फेरि कम्युनिष्ट पार्टीहरूलाई एकजुट बनाउने अभियानमा लागिपर्ने बताएका छन् । केही समयदेखि आफू कुनै पनि पार्टीमा संलग्न नभएको उल्लेख गर्दै गौतमले त्यसलाई फेरि एकीकृत गर्ने अभियानमा लाग्ने विचार गरेको बताएका हुन् ।

शुक्रबार राष्ट्रियसभा बैठकमा विशेष समय लिएर बोल्दै तत्कालीन नेकपाका सचिवालय सदस्यसमेत रहेका उनले कम्युनिष्ट पार्टीहरूलाई एकीकृत गर्नका लागि नै आफूले कुनै पनि नेताहरूको बारेमा टीकाटिप्पणी नगरेको स्पष्ट पारे । 

नेपाललाई एउटा समृद्ध समाजवादमा पुर्‍याउने आशासहित गठन भएको नेकपा पार्टीभित्रको आन्तरिक समस्याका कारण तीनवटा टुक्रामा विभाजित भएको उल्लेख गर्दै गौतमले भने, ‘केही समयदेखि म नेपालको कुनै पनि पार्टीमा छैन । र, मेरो विचार कम्युनिष्ट पार्टीहरू फेरि एकजुट हुनुपर्छ भन्ने हो । त्यसो भएर मैले कुनै नेताको बारेमा टीकाटिप्पणी पनि गरेको छैन । र, आफ्नो जीवनमा सधैंभरी क्रिटिकल व्यक्ति हुँ । मैले पुष्पलालको पनि आलोचना गरेँ । मैले मदन भण्डारीको पनि आलोचना गरेँ, जीवराज आश्रितको पनि आलोचना गरेँ । म जोजोसँग सम्बन्धित भएको छु– उहाँहरूसँग सैद्धान्तिक, राजनीतिक बहस हुँदाहुँदै आएको हो । र, म त्यसैमा दीक्षित भए ।’

उनले अगाडि भने, ‘हामीले एउटा ऐतिहासिक अवसर प्राप्त गरेका थियौं । नेपाललाई साँच्चिकै एउटा समृद्ध समाजवादमा पुर्‍याउने, त्यसको निम्ति औजारको आवश्यक्ता पर्छ र त्यो औजार राजनीतिक रूपले नेकपा कम्युनिष्ट पार्टी (नेकपा) मात्रै हुन सक्थ्यो । र, अब त्यो हुन्छ भनेर हामीलाई ज्यादै खुसी लागेको थियो । र, जनतालाई पनि त्यसले खुसी बनाएको थियो । तर, दुर्भाग्यबस पार्टी भित्र उत्पन्न समस्याहरूले हाम्रो पार्टी विभाजित हुन थियो ।’  

पूर्वउपप्रधानमन्त्री समेत रहेका गौतमले नेकपा गठनपछि जनता खुसी भएको तर पार्टीभित्रकै उत्पन्न समस्याहरूले पार्टीलाई विभाजित गरेको पनि स्मरण गराए । 
 





  • प्रकाशित मिति : असार ३, २०७९ शुक्रबार १३:१४:३८

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई farakdhar@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया