कर्णाली सरकारलाई बादी समुदायको प्रश्न : सहमति भएको डेढ वर्ष पुग्यो, अझै कति कुर्ने?
फरकधार / ४ असार, २०७९
[फाइल तस्बिर] कर्णालीका तत्कालीन मुख्यमन्त्री महेन्द्रबहादुर शाहीसँग छलफलमा आन्दोलनरत बादी समुदायका प्रतिनिधि

बादी संघर्ष समितिका संयोजक हिक्मत बादी भन्छन्, ‘हाम्रो समुदाय पहिलेदेखि नै खेती गरिरहेको समुदाय होइन । नाच्दै–गाउँदै पैसा मागेर, खोलामा गिट्टी–बालुवा संकलन लगायतका मजदुरी गरेर हामीले जीविकोपार्जन गर्ने गर्थ्यौं’, उनले भने, ‘तर कोभिड–१९ सङ्क्रमण रोकथामका लागि भएको लकडाउनले सबैभन्दा पहिले हाम्रो समुदायलाई पिरोल्यो । समुदायका नागरिक गाउँ–गाउँमा सहयोग माग्न जान सकेनन् । खोलामा गिट्टी–बालुवाको पनि काम भएन । ज्याला–मजदुरी पाउने त कुरै भएन । हामी आफ्नै घरमा भोकै बस्न बाध्य भयौँ । त्यसैले हामी खेतीयोग्य जमिनको माग बोकेर वीरेन्द्रनगर आएका थियौँ ।’



दुई वर्ष पहिले कर्णाली प्रदेशको मुख्यमन्त्री कार्यालय अगाडी १८ दिनसम्म लगातार बादी समुदायले धर्ना दिएका थिए । कर्णालीका जिल्लाहरूबाट पैदल हिँडेरै प्रदेशको राजधानी सुर्खेतको वीरेन्द्रनगर झरेका उनीहरूको मूल माग थियो, ‘खेतीका लागि जग्गाको व्यवस्थापन’ ।

सो समयमा प्रदेश सरकारसँग आफ्ना माग लिएर प्रदेशभरका वादी समुदायका नागरिक वीरेन्द्रनगर आइपुगेका थिए । बादी समुदायका करिब तीन सय नागरिकले वीरेन्द्रनगरमा धर्ना दिए । मुख्यमन्त्री कार्यालय अगाडी उनीहरूले आफ्ना बालबालिकासहित १८ दिनसम्म धर्ना दिए ।



१८ दिनसम्म चलेको धर्ना कार्यक्रमले अन्त्यमा बादी समुदायसँग प्रदेश सरकार सहमतिका लागि तयार भयो र दुई पक्षीय रूपमा पाँच बुँदे सहमति गरियो । वि.सं. २०७७ साल फागुन २६ गते भएको सहमतिले समुदायका लागि जग्गाको व्यवस्थापन, सीपमूलक तालिम, व्याज अनुदानका ऋणलगायतका थुप्रै पक्ष समेटिएको थियो ।



सहमतिमा समेटिएका विषय भने प्रदेश सरकारले हालसम्म पनि कार्यान्वयन गर्न नसकेको बादी समुदायको आरोप छ । वादी संघर्ष समितिका संयोजक हिक्मत वादी भन्छन्, ‘सरकारले हामीलाई सहमति गरी घर पठायो । तर सहमतिमा लेखिएका पक्ष लिएर प्रदेश सरकार हाम्रो सामु कहिल्यै आएन ।’

कर्णाली प्रदेश सरकार र कर्णालीका बादी समुदाय बिच वि.सं. २०७७ फाल्गुन २६ गते पाँच बुँदे सहमति भएको थियो । प्रदेशका तत्कालीन मुख्यमन्त्री महेन्द्रबहादुर शाहीको रोहवरमा बादी समुदायसँग भएको छलफलमा भूमि व्यवस्था, कृषि तथा सहकारी मन्त्रालयका तत्कालीन सचिव डा. राजेन्द्र मिश्रले कर्णाली प्रदेश सरकारका तर्फबाट सहमति पत्रमा हस्ताक्षर गरेका थिए ।

[फाइल तस्बिर] मुख्यमन्त्री तथा मन्त्रीपरिषद् कार्यालय अगाडी टाँगिएका पालहरू, कर्णालीका बादी समुदायले मुख्यमन्त्री कार्यालय अगाडी १८ दिनसम्म धर्ना दिएका थिए
प्रदेश सरकार र संघर्षरत् बादी समुदायबिच भएको पाँच बुँदे सहमतिमा मुख्य गरी जग्गा प्राप्ति, बादी समुदायको लागि सरकारले विभिन्न कार्यक्रम सञ्चालन गर्ने, नीति तथा कार्यक्रममा बादी समुदायका अधिकार लाईसमेत समेट्ने, ऋण अनुदानलगायतको व्यवस्था गर्ने विषय समेटिएको बादी संघर्ष समितिका संयोजक हिक्मत बादीले जनाए । तर हालसम्म पनि उक्त समयमा भएका सहमतिमा प्रदेश सरकार अघि नबढेको उनको आरोप छ ।

‘सरकारले बादी समुदायसँग सहमति त गर्‍यो तर सरकारका पक्षबाट सहमति कार्यान्वयनका लागि अघि बढिएन’, पाँच बुँदे सहमतिमा रोहबर समेत रहेका दलित गैरसरकारी महासंघका महासचिव जेबी विश्वकर्मा भन्छन्, ‘हामी पटक–पटक सरकारलाई सहमति कार्यान्वयन गर्न बताइरहेका छौँ । तर हालसम्म पनि कुनै सहमति कार्यान्वयन भएका भने छैनन् ।’ 
बादी समुदायसँग भएको केही समयपछि कर्णालीमा मन्त्रीपरिषद् फेरियो । हाल रहेको मन्त्रीपरिषद्ले पनि अघिल्लो सरकारले गरेको सहमति अघि बढाएको भने छैन ।

यस्तो थियो कर्णाली प्रदेश सरकार र बादी समुदाय बिच भएको पाँच बुँदे सहमति 

  •  प्रदेश सरकारको कार्यक्षेत्र नभएको हुँदा जमिन उपलब्ध गराई दिन प्रदेश सरकार, मन्त्री परिषद्बाट निर्णय गरी नेपाल सरकारलाई अनुरोधका साथै आवश्यक समन्वय गर्ने ।
  •  कर्णाली प्रदेशमा रहेका बादी समुदायको उत्थान र विकासका लागि दुई महिना भित्र यथार्थपरक प्रतिवेदन पेस गर्न प्रदेश सरकारले तीन सदस्यीय कार्यदल गठन गर्ने । र, ‘नाना, खाना र छाना कार्यक्रम अन्तर्गत बादी समुदायलाई यही आर्थिक वर्षमा थप कार्यक्रम सञ्चालन गर्ने ।
  •  कर्णाली प्रदेशमा रहेका बादी समुदायको उत्थान र विकासका लागि आउँदो नीति तथा कार्यक्रममा शिक्षा, स्वास्थ्य, रोजगारी, कला, संस्कृति, सीपमूलक तालिम तथा आयआर्जनका विषयहरू समावेश गर्ने ।
  •  बादी समुदायले हाल सञ्चालित सबै आन्दोलनका कार्यक्रम फिर्ता लिने ।
  • बादी समुदायका युवा व्यवसायीहरूलाई सीपमूलक तालिम तथा घुम्ती कोष खडा गरी १० लाख रुपैयाँ सम्मको ऋणमा व्याज अनुदानको व्यवस्था गर्ने ।

आफ्ना मागहरू सहित वीरेन्द्रनगर झरेका बादी समुदायका अधिकांश नागरिक सो समयमा प्रदेश सरकारसँग भएको पाँच बुँदे सहमति पछि रोजगारीका लागि भारत जाने तरखर गर्न थाले । प्रदेश सरकारसँगको पाँच बुँदे सहमतिपछि उनीहरू रोजगारी का लागि भारतका विभिन्न भूभागमा जाने योजनामा थिए ।

बादी संघर्ष समितिका संयोजक हिक्मत भन्छन्, ‘यसअघि आफ्ना बालबालिकाहरूलाई साथमा लिएर रोजगारीका लागि भारत पस्नेहरू अधिकांश हाम्रै समुदायका छन् । सधैँ झैँ फेरी पनि बालबालिका लिएर भारत तर्फ जान लागेको देखेपछि हामीले ती बालबालिकालाई यतै रोक्ने निधो गर्‍यौँ’, अनि सुरु भयो, ‘बादी सरोकार मञ्च नेपाल’को स्थापना । स्वयम् हिक्मत नै अध्यक्ष रहेको यस संस्थामा हाल एक सय २६ जना बालबालिका पूर्ण आश्रित रहेका छन् ।

हिक्मत भन्छन्, ‘प्रदेश सरकारले हामीसँग भएका सहमति कार्यान्वयन गर्न त सकेन, कमसेकम हाम्रा बालबालिकाको भविष्य सुनिश्चित त गरिदेओस् ।’संस्थामा आश्रय लिइरहेका बालबालिकाहरू अहिले निजी विद्यालयमा छात्रवृत्तिमा अध्ययन गरिरहेका छन् । तर उनीहरूका लागि खाना, लत्ताकपडा लगायतको समस्या भने रहँदै आएको छ ।

‘कति दिन मागेरै चलाउने ? ऋणमा भए पनि खाद्यान्नको जोहो गरेर बालबालिकाका लागि हामीले काम गरिरहेका छौँ । अबको अन्तिम विकल्प भनेकै प्रदेश सरकारलाई हाम्रा बालबालिकाको जिम्मा लगाउनु हो । यी बालबालिकाको पालन पोषणको जिम्मा सरकारले लिनुपर्छ’, हिक्मतले भने, ‘प्रदेश सरकारसँग भएका सहमति कार्यान्वयन नगरिने हो भने हामी पुनः आन्दोलन गर्न बाध्य हुनेछौँ ।’

[फाइल तस्बिर] कर्णालीको मुख्यमन्त्री तथा मन्त्रीपरिषद्को कार्यालय अगाडी विभिन्न मागसहित धर्नामा बादी समुदाय

यता राष्ट्रिय मानव अधिकार आयोगको कर्णाली प्रदेश कार्यालयका प्रमुख मानबहादुर कार्की बादी समुदायको आधारभूत आवश्यकता परिपूर्तिको दायित्व राज्यको रहेको बताउँछन् । उनले भने, ‘बादी समुदाय आन्दोलनरत रहदा आयोगको नेपालगन्ज कार्यालयले यस विषयमा अध्ययन गरेको पनि थियो । बादी समुदायको माग सम्बोधन गर्न प्रदेश सरकारलाई आयोगले सुझावसमेत दिएको हो ।’

प्रदेश सरकारले आफ्नो क्षेत्राधिकार भित्र पर्ने कामकाज आफैले र संघीय सरकारको क्षेत्राधिकार भित्र रहने कामकाजका लागि समन्वयकारी भूमिका निर्वाह गर्नुपर्ने कार्कीको भनाई छ ।
हाल कर्णाली प्रदेश सरकारले विभिन्न समुदायलाई सहयोग गर्ने उद्देश्यले कार्यविधि निर्माणको चरणमा अघि बढेको कर्णाली प्रदेश सरकारका प्रमुख सचिव राजकुमार श्रेष्ठ बताउँछन् । उनले भने, ‘शिक्षा, सीप विकास, प्रविधिलगायतका क्षेत्रमा पिछडिएका वर्ग तथा समुदाय लाभान्वित हुने गरी कार्यक्रम सञ्चालन हुँदैछ ।’

यता कर्णालीको भूमि व्यवस्था, कृषि तथा सहकारी मन्त्री चन्द्रबहादुर शाही भने सरकारले नीति तथा कार्यक्रम र बजेटमा समेत लक्षित वर्गका लागि विभिन्न कार्यक्रमहरू समावेश गरेको बताउँछन् । उनले भने, ‘हामीले लक्षित वर्गका लागि भनेरै विभिन्न कार्यक्रमहरू ल्याएका छौँ । ऋणमा व्याज अनुदानलगायतका विषयहरू छन् । यदि उहाँहरू कोही ऋण लिएर व्यवसाय सञ्चालनको योजनामा हुनुहुन्छ भने पनि आउनुपर्‍यो ।’

मन्त्री शाहीको भनाई अनुसार सरकारले लक्षित वर्गका लागि आयआर्जन, शिक्षा, प्रविधिलगायतका कार्यक्रमहरू समावेश गरेको छ । सोही अनुसार वादी समुदाय पनि आफू समावेश हुन सकिने कार्यक्रममा सहभागिताका लागि अग्रसर हुनुपर्ने मन्त्री शाहीको धारणा छ । 

  • प्रकाशित मिति : असार ४, २०७९ शनिबार १३:४८:४३,   अन्तिम अपडेट : असार ४, २०७९ शनिबार १४:१४:५०

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई news@farakdhar.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, टिकटक, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्


यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया