किसानका पीडा : धानको मूल्य भुसको भन्दा कम

गौरादह–४का नवराज बरालले १५ कठ्ठा क्षेत्रफलमा चैते धान लगाएका थिए । धान ७५ मन फल्यो । तर, धानको मूल्य लगानी पनि नउठ्ने भएपछि चिन्तित छन्, उनी । चैते धानले मूल्य राम्रो नपाएपछि अर्को वर्ष चैते धान लगाउने कि नलाउने भन्ने दोधारमा छन्, उनी ।

‘चैते धानको त मूल्य नै छैन नि !,’ उनी भन्छन्, ‘खर्च पनि उठ्दैन । मनको ६ सयदेखि ६ सय ५० मात्र छ । अर्को वर्ष लगाउने कि नलगाउने भन्ने दोधारमा छु ।’ आजकाल खेतीमा काम गर्ने जनशक्ति पनि छैन । खेतीको काम सबै कृषि औजारबाट हुँदै आएको छ । यो खर्चिलो पनि रहेको उनी बताउँछन् । ‘उत्पादन खर्च बढेको छ । तर, लगानी पनि उठ्दैन । कसरी कृषि पेसा गर्ने ?,’ उनी भन्छन् । 

नमुना एकीकृत सहकारी खेतीले पनि चैते धान लगाएको छ । तर, चैते धानको मूल्य कम हुँदा समस्या भएको अध्यक्ष वेदनिधि चापागाईं बताउँछन् । ‘भुस प्रति केजी १५ रुपैयाँ पर्छ । चैते धान १२ देखि १५ रुपैयाँमा मात्र बिक्री हुन्छ । अनि धानभन्दा भुस सस्तो भएन ?,’ उनी भन्छन्,‘किसानको लागत नै उठ्दैन । बरु खेती नगर्दा त घाटा भएन नि त्यही भएर खेती नै नगर्ने अवस्था आएको छ ।’ 

सरका चैते धानको समर्थन मूल्य नतोक्दा पनि कृषक समस्यामा परेको उनी बताउँछन् । ‘सरकारले समर्थन मूल्य पनि तोक्दैन । अब समर्थन मूल्य तोकेर कृषकलाई प्रोत्साहन गर्नुपर्छ,’ उनी भन्छन् । 

समयमा मल नपाउने समस्या त्यहीँमाथि उत्पादन भएको धानले मूल्य नपाउँदा कृषक समस्यामा छन् । ‘मल समयमा पाइँदैन । पारि (भारत)बाट ल्याउनुपर्छ । त्यो पनि डुप्लिकेट भइदिन्छ । किसानका दुःख कति कति ?,’ चापागाईं भन्छन् । 

यसपटक चैते धानको मूल्य विगतको तुलनामा निकै कम रहेको कृषि ज्ञानकेन्द्र झापाका प्रमुख सागर विष्टले बताए । ‘यसपटक सधैँको भन्दा पनि मूल्य कम छ । हुनुपर्ने भन्दा कम छ । अहिले ६६० देखि ६८० सम्म छ,’ उनी भन्छन्, ‘चिसोमा धान काटिने भएका कारण चिसोमै बेच्दा कम हुन्छ । तर, चैते धानको मूल्य आठ सयदेखि हजार हुँदा मात्र कृषकको लगानी उठ्छ ।’





  • प्रकाशित मिति : असार ४, २०७९ शनिबार १८:३५:४८

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई farakdhar@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया