अमेरिकी स्टेट पार्टनरसिप प्रोग्राम (एसपिपी)बारे नेपाली सेनाले अमेरिकी राजदुतावासलाई सोझै पत्राचार गरेको भन्दै नेकपा (माओवादी केन्द्र)का नेता वर्षमान पुनले असन्तुष्टि व्यक्त गरेका छन् । पूर्वअर्थमन्त्रीसमेत रहेका नेता पुनले परराष्ट्र मन्त्रालय, रक्षा मन्त्रालय, कानुन मन्त्रालय कसैलाई पनि जानकारी नै नदिई नेपाली सेनाले सो विषयमा सोझै पत्राचार गर्ने काम गम्भीर भएको भन्दै असन्तुष्टि व्यक्त गरेका हुन् ।
मदन भण्डारी फाउन्डेसनले शनिबार काठमाडौंमा आयोजना गरेको एक कार्यक्रममा बोल्दै उनले अब यस्ता घटना हुन नदिन सरकार र राजनीतिक नेतृत्वलाई सचेत हुन पनि पटक–पटक आग्रह गरे ।
कार्यक्रममा बोल्दै नेकपा (एमाले)का उपमहासचिव एवं पूर्वपरराष्ट्रमन्त्री प्रदीप ज्ञवालीले एसपिपी अघि बढाउँदा तालुकदार मन्त्रालय र राजनीतिक नेतृत्वलाई नेपाली सेनाले जानकारी नै नदिएको दाबी गरे । रक्षा मन्त्रालयलाई सो प्रक्रियाबारे के गर्ने भनेर नेपाली सेनाले अनुरोध गरेको तथा मन्त्रालयको प्रतिनिधिलाई पनि सामेल गराएर सो प्रक्रिया अघि बढाउनू भनेपछि सो प्रक्रिया अघि बढाएको देखिएको उनले बताए ।
उपमहासचिव ज्ञवालीले ०७२ साल असोज १३ गते सो प्रक्रिया अघि बढाउनू भन्ने निर्देशन दिँदा तत्कालीन रक्षामन्त्री सुशील कोइराला रहेको र नेपाली सेनाले अमेरिकी राजदुतावासलाई सो प्रोग्रामबारे पत्राचार गर्दा केपी ओली प्रधानमन्त्री भए पनि कुनै जानकारी नदिइएको बताए ।
उपमहासचिव ज्ञवालीले नेपालको परराष्ट्र नीति सही भए पनि त्यसको व्यावहारिक प्रयोगमा कठिनाइ हुने गरेको पनि स्पष्ट पारे ।
फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई farakdhar@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।