एपिपीविरुद्ध संसदमा जुन पार्टीले हंगामा गर्यो, पत्र पठाउने कुरामा त्यही पार्टी जोडिएको छ : माधव नेपाल

नेपाल कम्युनिस्ट पार्टी (एकीकृत समाजवादी)का अध्यक्ष माधवकुमार नेपालले स्टेट पार्टनरसिप प्रोग्राम (एसपिपी) खारेज गरिने बताएका छन् । 

पार्टीनिकट युवा संघ नेपालको उपत्यका युवा विशेष जिल्ला कमिटीको शपथग्रहण कार्यक्रममा अध्यक्ष नेपालले मुलुकमा एसपिपीका विषयमा विवाद उत्पन्न भएको भन्दै सरकारले यसलाई खारेज गर्नुपर्ने बताएका हुन् ।

एसपिपीको विषयमा आफू, नेकपा (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ र नेता नारायणकाजी श्रेष्ठ, जनता समाजवादी पार्टी नेपाल (जसपा)का अध्यक्ष उपेन्द्र यादवका बीचमा आजै छलफल भएको बताउँदै उनले यसलाई अस्वीकार गरिने प्रस्ट पारे । 

यो अन्योलको अवस्थालाई चिर्न आफूहरूले छलफल जारी राखेको भन्दै अध्यक्ष नेपालले प्रधानमन्त्रीसँग फेरि कुराकानी गर्ने समझदारी भएको बताए । सन् २०१५ मा नेपाली सेनाले अमेरिकी दूतावासलाई लेखेको पत्र सार्वजनिक भएपछि सोही सन्दर्भमा छलफल जारी रहेको अध्यक्ष नेपालले जानकारी दिए ।

त्यसअघि प्रधानमन्त्री शेरबहादुर देउवा र प्रधानसेनापति प्रभुराम शर्माले एसपिपीको विपक्षमा रहेको बताएपछि आफूहरू ढुक्क भएको भए पनि पछिल्लोपटक सार्वजनिक पत्रले अन्योल थपेको बताए । ‘अर्को कागज आइपुग्यो, नेपाली सेनाका प्रमुखले नै हस्ताक्षर गरेको, कुन सरकारको पालामा र को प्रधानमन्त्री हुँदा भन्ने कुरा पनि उठ्यो,’ एमालेप्रति लक्ष्ँित गर्दै उनले भने, ‘संसदमा जसले आवाज उठाएका थिए, जोडदार रूपमा हंगामा गरेका थिए, त्यही पार्टी जोडिएको देखिएको छ ।’

उक्त कार्यक्रममा अध्यक्ष नेपालले युवा संघको उपत्यका युवा विशेष जिल्ला कमिटीको नवगठित कार्यसमितिलाई शपथ गराए । सुशील भट्टराईको नेतृत्वमा ३१ सदस्यीय युवा संघको कमिटी गठन गरिएको थियो ।





  • प्रकाशित मिति : असार ४, २०७९ शनिबार २१:५२:४२

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई farakdhar@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया