१७ वर्षीय स्वस्तिक सहनी, जसले ५० भन्दा बढी बालबालिकालाई ट्युसन पढाउँछन्

घामको ज्योतिले आँगन टेक्न नपाउँदै बालबालिका स्वस्तिककुमार सहनीको आँगनमा पुग्छन् । खुट्टामा चप्पल होस्/नहोस् तर उनीहरूको हातमा केही थान कापी, कलम भने छुट्दैन । उनीहरू बिहान चाँडै उठ्छन् । 

हातमुख धोएर खाजा खाएपछि सबै बालबालिका लाग्छन् सहनीको आँगनमा । दुईपट्टीबाट लाइन लागेर बस्नको लागि साना बोराको चकटी ओछ्याउँछन्, आफ्ना किताब र अघिल्लो दिनमा दिइएको गृहकार्य अगाडि राख्छन्, अनि सुरु हुन्छ सहनीबाट ट्युसन पढ्न आएका मलाहीटोलका नानीबाबुको सिकाइको यात्रा ।

उनीहरूलाई रौतहटको गरुडा नगरपालिका–८ मलाहीटोल निवासी १७ वर्षीय स्वस्तिक सहनी ट्युसन पढाउँछन् । बालबालिकालाई आउने समय भएपछि सहनी पनि पढाउनको लागि तयारीका साथ बस्छन् । बस्नको लागि आँगन सफा गर्छन् । जब बच्चाहरू सहनीको घर पुग्छन्, अनि उनी मिलेर बस्नको लागि ओछ्याउनको लागि ल्याएको बोरा फिँजाउँछन् । अनि पढाइ सुरु हुन्छ ।

१७ वर्षीय सहनी मलाहीटोलमा रहेको सरस्वती माविमा अध्ययनरत ५० भन्दा धेरै बालबालिकालाई ट्युसन पढाउँछन् । रोचक कुरा के छ भने उनी आफैँ पनि सोही विद्यालयमा कक्षा १० मा पढ्छन् । 

कक्षा १ देखि ८ सम्मका बालबालिकालाई पढाउने सहनी विद्यालयसँगै आफूले पढाएको ट्युसन क्लासको कारणले पढाइ राम्रो भएकोमा दंग छन् । ‘हामीले यसरी पढाउन थालेपछि विद्यार्थीको आनाबानीमा पनि फरक आएको छ । उनीहरूका अभिभावकले पनि राम्रो प्रतिक्रिया दिएका छन् । जसले गर्दा अझै राम्ररी पढाउनका लागि ऊर्जा मिल्छ,’ सहनीले भने ।



विद्यालयको पढाइले मात्रै नपुग्ने भन्दै अभिभावकले पनि ट्युसन पढाउन चासोका साथ सहनीकहाँ ल्याउने गरेका छन् । कक्षा ८ मा पढ्दादेखि ट्युसन पढाउन सुरु गरेका सहनी मलाहीटोलमा ‘सानो मास्टर’ भनेर पनि चिनिने गरेका छन् । दुई वर्षदेखि सहनीले यसरी नै आँगनमा राखेर पढाउँदै आफूलाई पनि पढ्ने खर्च जुटाइरहेका छन् । 



उनी बिहान र बेलुकीको समयको दुई घण्टाको अवधिमा पढाउँछन् । बिहानको ७ देखि ९ बजेसम्म पढाएपछि बालबालिका आफ्नो घरतिर लाग्छन् । विद्यालय जान तयार हुन्छन् । सँगै सहनी पनि विद्यालय जान्छन् । दिनभर विद्यालयमा पढेर फर्किएपछि पुनः सुरु हुन्छ बेलुकाको ट्युसन । उनी बेलुकाको लागि आँगनको छेउमा गाडेको अग्लो खम्बामा बिजुलीको बत्ति बालेर पढाउँछन् । 

सहनीले एकैपटकमा धेरै जनालाई पढाउने ठाउँ नभएका कारण दुई भागमा विभाजन गरेर पढाउने गरेका छन् । बालबालिका बेलुका ७ देखि ९ बजेसम्म ट्युसन पढ्छन् । ट्युसन पढ्नेहरूमा केटाकेटी बराबर छन् । 

‘सानो मास्टरभन्दा रमाइलो लाग्छ । केही दाम पनि कमाइ हुन्छ । बच्चाहरू पनि मास्टर भनेपछि केही हदसम्म डराउँछन् । घरमा माबाबले भन्दा नमान्ने बालबालिकाहरू मसँग केही हदसम्म डराउँछन् । थोरै भए पनि आफूलाई कापीकलम किन्न पनि पुगेको छ । आफूलाई आउने ज्ञान बाँड्न पनि पाइएको छ,’ सहनीले भने ।

उनको पढाइ पनि राम्रो छ । ‘पढाइ राम्रै छ । ट्युसन पढाउँछन् साना क्लासका नानीहरूलाई । सहनीले गर्दा बच्चाहरूको पढाइमा पनि सुधार भएको छ,’ सरस्वती माविका शिक्षक भन्छन् ।  

  • प्रकाशित मिति : असार ५, २०७९ आइतबार १२:१६:२३

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई farakdhar@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया