भारतमा ‘अग्निपथ योजना’विरुद्ध प्रदर्शन उग्र बन्दै, आज बन्दको आह्वान
करोडौँ मूल्यको भौतिक सम्पत्तिमा क्षति, दर्जनौँ आन्दोलनकारी पक्राउ

सरकारले ल्याएको अग्निपथ योजनाको विरोधमा आज भारत बन्दको आह्वान गरिएको छ । बन्दको पूर्वसन्ध्यामा सोमबार बिहान धेरै राज्यहरूमा प्रहरीले उच्च सर्तकता अपनाएको छ । अग्निपथ योजनाको विरोधमा विशेषतः युवाहरू क्रुद्ध बनेका छन् । सरकारले अन्याय र अव्यवहारिक योजना ल्याएकाले त्यो फिर्ता हुनुपर्ने उनीहरूले माग गर्दै आएका छन् । 

हालै सरकारले ल्याएको उक्त योजनामा भारतका १७ देखि साढे २१ वर्ष उमेर समूहका युवा–युवतीहरूलाई जल, स्थल र वायु गरी तीन ओटै सैन्य सेवामा जवान पदमा चार वर्षको अल्पकालीन करारमा भर्ना गरिने उल्लेख छ । 

योजनाअनुसार सैनिक सेवामा प्रवेश गरेका ७५ प्रतिशत युवाले चार वर्षमै अवकाश पाउने छन् । योजनालाई लिएर केही दिनदेखि भारतमा हिंसात्मक प्रदर्शन भइरहेका छन् । युवाहरूको विरोधबीच सरकारले योजना फिर्ता नगर्ने बताउँदै आएको छ । रक्षा खर्च कटौती गर्ने बाहनामा सरकारले लाखौँ युवाको अवसर खोसेको आन्दोलनकारीले बताउँदै आएका छन् । सरकारले ल्याएको योजनाको विरोधमा आन्दोलनकारीले दर्जनौँ सवारी साधन र रेलमा आगजनी गरेका छन् । त्यस्तै, करोडौँ मूल्य बराबरको भौतिक सम्पत्तिमा क्षति पुर्‍याएका  छन् । 

बिहारमा २५० रेलले आफ्नो सेवा रद्द गरेका छन् । आन्दोलनकारीले बिहारमा रेललाई निशाना बनाउँदै आएका छन् । बिहार सरकारले अतिसंवेदनशील मानिने पार्टी कार्यालयहरूमा सुरक्षा बढाएको छ । हालसम्म २० जिल्लामा इन्टरनेट सेवा बन्द छ ।  केरला प्रहरीले आफ्नो सम्पूर्ण बल आज हिंसा नियन्त्रणमा लगाउने जनाएको छ । 
प्रेस ट्रस्ट अफ इन्डियाका अनुसार झारखण्डमा सोमबार स्कूलहरू बन्द गरिएका छन् । त्यहाँ कक्षा ९ र ११ को चलिरहेको परीक्षा पनि स्थगित गरिएका छन् । दिल्ली नजिकैको गौतम बुद्ध नगरमा ठूला जमघटहरूमा प्रतिबन्ध लगाउने निषेध आदेश लगाइएको छ । विभिन्न राज्यबाट दर्जनौँ आन्दोलनकारी पक्राउ परेका छन् । 
 





  • प्रकाशित मिति : असार ६, २०७९ साेमबार ९:५:१५

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई farakdhar@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया