कञ्चनपुरको भीमदत्त नगरपालिकाले अघिल्लो कार्यकालको आर्थिक दायित्व र आगामी लक्ष्यसहितको श्वेतपत्र जारी गरेको छ । नगरपालिकाको यही असार ८ गते बस्ने नगर सभा बैठकको पूर्वसन्ध्यामा नगरपालिकाले श्वेतपत्र जारी गरिएको हो ।
श्वेतपत्रमा अघिल्लो कार्यकालको ३९ करोड ३३ लाख रुपैयाँ दायित्व देखिएको छ । यसमा ३८ करोड ६८ लाख रुपैयाँ पूँजीगत र ६५ लाख ४६ हजार रुपैयाँ चालू खर्च छ । नगरपालिकाको पुँजीगततर्फ हालसम्मको भुक्तानी गर्न बाँकी रकम नगरपालिकाको प्रशासनिक भवनको सङ्घबाट प्राप्त हुने समपूरक रकम ६ करोड ७५ लाखबाहेक कूल पुँजीगत तिर्न बाँकी रकम ३८ करोड ६८ लाख ४१ हजार ९९८ रुपैयाँ रहेको छ ।
चालू (दायित्व) तिर्न बाँकी रकम ६५ लाख ४६ हजार ८४० गरी जम्मा ३९ करोड ३३ लाख ८८ हजार ८३८ रुपैयाँ नगरपालिकाले तिर्नुपर्ने छ । श्वेतपत्रमा बजेट सुनिश्चितता नभएर ठेक्का लगाएको, ठूलो रकम रकमान्तर गरिएको, डीपीआर प्रतिवेदन बनाइएको, आन्तरिक स्रोतले धान्न नसक्ने गरी कर्मचारी भर्ना गरिएको, इन्धन खर्चमा मितव्ययिता अपनाउन नसकिएको र ठूलो मात्रामा कोटेशन गरिएको कारणबाट दायित्व बढेको उल्लेख गरिएको छ ।
दायित्वलाई सङ्घ र प्रदेश सरकारसित पहल गरी घटाउने जाने नगरपालिकाको योजना छ । आन्तरिक स्रोतले मात्रै धान्न नसकिने भएकाले माथिल्लो सरकारसित पहल गरी आवश्यक निर्माणका कार्य सञ्चालन गरिने श्वेतपत्रमा उल्लेख गरिएको छ । अघिल्लो कार्यकालका राम्रा कामलाई निरन्तरता दिँदै जाने, दरबन्दी पुनरावलोकन, भ्रष्टाचारमा शून्य सहनशीलताको नीति अपनाइने, सबै वडामा सेवाग्राहीलाई सहजरूपमा सेवा सुविधा दिने र नगरपालिकाकाभित्र हुने अनियमिततालाई छानबिनको दायरामा ल्याएर सुशासन कायम गर्ने श्वेतपत्रमा उल्लेख गरिएको छ ।
नगरपालिकाका नगर प्रवक्ता महेन्द्र खड्काले वर्तमान जनप्रतिनिधिले नगरपालिकाको जिम्मेवारी सम्हाल्दा अघिल्लो कार्यकालका गरिएका गतिविधि नगर बासिन्दालाई जानकारी गराउन श्वेतपत्र जारी गरिएको बताए । श्वेतपत्रमा सेवा प्रवाहमा लापरबाही गर्ने कर्मचारीलाई कारबाही गर्ने घोषणा गरेको छ । भीमदत्तले जारी गरेको श्वेतपत्रमा सेवाग्राहीलाई झन्झट गरी नियतबस दुःख दिने कर्मचारीलाई नियमानुसार कारबाही गर्ने घोषणा गरिएको छ । कर्मचारीको लापरबाहीका गुनासोका लागि हेल्प डेस्क, टोल फ्रि नम्बर र उजुरी पेटिका व्यवस्था गरिने श्वेतपत्रमा उल्लेख गरिएको छ ।
श्वेतपत्रको आगामी लक्ष्यमा सबै वडामा सेवा प्रवाहलाई सहज र सरल बनाउने उल्लेख गर्दै लापरबाही गर्ने कर्मचारीलाई कारबाही गरिने उल्लेख गरिएको छ ।
फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई farakdhar@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।