कर्णालीका किसानको गुनासो : मकैलाई युरिया थिएन, धानको लागि पनि मल पाएनौं

सुर्खेतको भेरीगंगा नगरपालिका–६ स्थित सुन्धरा कृषि तथा पशुपालन सहकारी संस्थामा रासायनिक मलको अभाव छ । संस्थामा आवद्ध रहेका ५ सय २ जना किसानका लागि हालसम्म प्राप्त रासायनिक मल प्रयाप्त मात्रामा पुगेको छैन । चालू आर्थिक वर्षको हालसम्म संस्थाले ७५ क्विन्टल डिएपी र ५० क्वीन्टल युरिया मल पाएको थियो । 

संस्थासँग आवद्ध किसानलाई अझै दोब्बर मात्रामा रासायनिक मलको आवश्यकता पर्छ । संस्थालाई अझै एक सय ७५ क्विन्टल डिएपी र २ सय ५० क्विन्टल युरिया मलको तत्काल आवश्यकता रहेको संस्थाका अध्यक्ष बलवीर नेपालीले जानकारी दिए । 

‘समयमा मल नपाएपछि यहाँ किसानहरू चिन्तित हुनुहुन्छ । वर्षातको समय सुरु हुँदैछ, मानो रोपेर मुरी फलाउने समयमा रासायनिक मल अभाव भएपछि किसानहरूको चिन्ता बढेको हो,’ उनले भने 

यता वीरेन्द्रनगर–१० स्थित मनिकापुर कृषि सहकारी संस्थाको कार्यालयमा समेत दैनिक १०/१२ जना किसान सोधपुछका लागि आउँछन् । उनीहरूको एउटै प्रश्न छ, ‘मल कहिले आउँछ?’ 

बजारमा मलको अभाव छ, सरकारले कृषि सहकारी संस्थाबाट रासायनिक मल वितरण गर्ने व्यवस्था मिलाएको छ । तर, रासायनिक मलको अभाव भएपछि किसानहरू कृषि सहकारी संस्थाका कार्यालयमा धाइरहेका छन् ।

संस्थाका सचिव गणेशकुमार थापाले भने, ‘यसपालि यहाँका किसानले कर्मका लागि युरिया मलसमेत पाएनन् । दैनिक १०/१२ जना किसान धान खेतीका लागि रासायनिक मल खोज्दै सहकारीको कार्यालयमा आइपुग्नुहुन्छ । तर के गर्नु, सहकारीले पनि रासायनिक मल खरिद गरी ल्याउन सकेको छैन ।’



कृषि सहकारी संस्थाहरूलाई रासायनिक मलका लागि कृषि सामग्री कम्पनी लिमिटेडमार्फत खरिद गर्ने व्यवस्था छ । तर, कम्पनीले माग भएअनुसार मलको व्यवस्था गर्न नसकेपछि किसानहरू मर्कामा परेका छन् ।

चालू आर्थिक वर्षको हालसम्म मनिकापुर कृषि सहकारी संस्थामा ३५ क्विन्टल डिएपी र ६ क्विन्टल युरिया मल पुगेका थियो । २ सय २३ जना किसानआवद्व उक्त संस्थाका लागि प्राप्त रासायनिक मलको यो परिमाण भने प्रयाप्त रहेन । 



संस्थाका सचिव थापाले भने, ‘धानका लागि भनेर हामीले एक सय क्विन्टल डिएपी माग गरेका छौँ । मागअनुसारको आउला भन्ने आस छैन । युरिया त झन् कर्णालीमा आएकै छैन रे ।’ कर्णाली प्रदेशका किसानका लागि वार्षिक रूपमा करिब ३ हजार मेट्रिक टन मल आवश्यक पर्छ । तर, प्रदेशमा प्रत्येक आर्थिक वर्ष करिव एक हजार पाँच सय मेट्रिक टन हाराहारीमा मल भित्रिरहेको छ । 

प्रदेशको कृषि सामग्री कम्पनी लिमिटेड कार्यालयका सूचना अधिकारी सुन्दर केसीले भने, ‘माग धेरै छ, सरकारले मल उपलब्ध गराउन सकेको छैन ।’ चालू आर्थिक वर्षमा कर्णालीमा १ हजार ५ सय ४८ मेट्रिकटन रासायनिक मल भित्रिएको थियो । आर्थिक वर्ष सकिन नपाउँदै उक्त परिमाणबाट धेरै मल प्रयोग भइसकेको छ । 

कम्पनीसँग रासायनिक मलको मौज्दात निकै कम छ । आर्थिक वर्ष सकिन नपाउँदै, धान उत्पादनका लागि आवश्यक समयमा किसानहरू मलको अभाव भोगिरहेका छन् । चालू आर्थिक वर्ष २०७८/०७९ मा कर्णालीका लागि १ हजार ६० मेट्रिक टन युरिया मल भित्रियो । तर, ०७८ असोजदेखि नै युरिया सबै सकिसकेको थियो । 

४ सय १४ टन डिएपी र ७३ टन पोटास मल प्रदेशमा भित्रिएको थियो । कृषि सामग्री कम्पनीसँग हाल गोदाममा ७२ टन डिएपी र २ टन पोटास मात्र मौज्दात छ । ‘अन्तर्राष्ट्रिय बजारमा मलको मूल्यवृद्धि भइरहेको अवस्था छ । कोभिडका कारण पनि अन्तर्राष्ट्रिय बजारमा मलको आपूर्तिमा कमी आएको छ । त्यसैले पनि नेपालमा रासायनिक मलको चरम अभाव देखिएको हो,’ केसीले भने । 

उनका अनुसार नेपालभर कूल ७ लाख मेट्रिकटन रासायनिक मलको आवश्यकता छ । तर, देशभर करिब २ लाख मेट्रिकटन मात्र आयात भइरहेको छ । कर्णाली प्रदेशभर रहेका कूल १ सय ८ वटा कृषि सहकारी संस्थाहरूले कृषि सामग्रीमार्फत रासायनिक मल खरिद गरी किसानलाई बिक्रीवितरण गरिरहेका छन् ।

  • प्रकाशित मिति : असार ७, २०७९ मंगलबार १०:४:३३

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई farakdhar@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया