विराटनगर विमानस्थल पीडितको चरणबद्ध आन्दोलन : चेम्बर गेटमा दैनिक दुई घण्टा धर्ना
फाइल तस्वीर

विराटनगर विमानस्थल पीडित संघर्ष समितिले चरणबद्ध आन्दोलन थालेको छ । आफ्ना माग पूरा नगरेको भन्दै संघर्ष समितिले मंगलबारदेखि चरणवद्ध आन्दोलन थालेको हो । 

मंगलबार संघर्ष समितिको अगुवाइमा विमानस्थल पीडितले विराटनगर विमानस्थलको चेम्बर गेटमा दुई घण्टा धर्ना दिएका छन् । बिहान ११ बजेदेखि १ बजेसम्म विमानस्थल पीडितले धर्ना दिएका हुन् । 

बुधबार र बिहीबार पनि बिहान ११ बजेदेखि १ बजेसम्म धर्ना दिइने संघर्ष समितिका संयोजक बेदराज पौडेलले जानकारी दिए । उनले १० असारमा जग्गा प्राप्ति ऐन २०३४ विभेदकारी रहेकाले जिल्ला प्रशासन कार्यालय अगाडि जलाउने र ऐन परिमार्जन गर्न दबाब दिने बताए । 

त्यस्तै, ११ असारमा पर्यटन तथा नागरिक उड्डयनमन्त्री प्रेम आलेले पीडितसँग ज्ञापनपत्र बुझेर मुआब्जाको बजेटको व्यवस्था गर्छु भने पनि एक जना व्यापारी उद्योगीको बहकाउमा लागेर अमडुवामा विमानस्थल सार्ने जस्तो हावादारी कुराको पछि लागेर जनतालाई दुःख दिएकाले मुख्यमन्त्री कार्यालयअगाडि पुतला दहन गर्ने, प्रमुख राजनीतिक दलहरूलाई आफ्नो आन्दोलनलाई समर्थन र अपनत्व ग्रहण गरिदिन पत्राचार गर्ने र ‘विराटनगरको विकास र अधुरा योजना’ शीर्षकमा शीर्षस्थ नेताहरूसँग अन्तरक्रिया कार्यक्रम गर्ने कार्यक्रम तय गरिएको संघर्ष समितिका संयोजक पौडेलले बताए ।

उनले पहिलो चरणको आन्दोलनको कार्यक्रम सम्पन्न हुँदासम्म माग पूरा नभए दोस्रो चरणमा थप कडा आन्दोलनमा उत्रने बताए । 

विमानस्थल पीडितलाई मुआब्जा तथा रोक्का राखिएको जमिन फिर्ता गर्ने विषयमा मुख्यमन्त्री र जिल्ला प्रशासन कार्यालयले कुनै कदम नचालेकाले आन्दोलनमा उत्रन बाध्य भएको संघर्ष समितिका संयोजक पौडेलले बताए ।





  • प्रकाशित मिति : असार ७, २०७९ मंगलबार १८:२०:१९

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई farakdhar@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया