स्वच्छ ऊर्जाको उपभोग बढाउने नीति बनाउन सरकारलाई संसदीय समितिको निर्देशन
फाइल तस्वीर

संसदीय समितिले पेट्रोलियम पदार्थको खपत कम गरी स्वच्छ ऊर्जाको उपभोग बढाउनेबारे नीतिगत प्रबन्ध गर्न सरकारलाई निर्देशन दिएको छ । 

संघीय संसद राष्ट्रियसभा अन्तर्गतको दिगो विकास तथा सुशासन समितिको बुधबार सिंहदरबारमा बसेको बैठकले विद्युतीय सवारी साधन शौर्य बत्ती, शौर्य पानी तताउने मेसिन, विद्युतीय चुलोजस्ता पेट्रोलियम पदार्थको खपत प्रतिस्थापन गर्ने उपकरणको प्रयोगलाई प्रोत्साहन गर्ने गरी आवश्यक नीतिगत प्रबन्ध गर्न ऊर्जा, जलश्रोत तथा सिँचाइ मन्त्रालयलाई समिति निर्देशन दिएको हो । 

बैठकले वर्तमान अवस्थामा खनिज इन्धनमा बढ्दै गएको उच्च मूल्यका कारण सर्वसाधारणको जीविकोपार्जनमा ठूलो प्रभाव पारेको तथा समग्रमा मुलुकको अर्थतन्त्रमा पनि दीर्घकालीन असर पर्ने भएकाले वैकल्पिक ऊर्जाको उपलब्धता र सम्भावनाबारे अध्ययन गर्न पनि निर्देशन दिएको छ । 

वैकल्पिक ऊर्जाबारे विषय विज्ञ र सरोकारवालासँगको छलफलपछि समितिले पेट्रोलियम पदार्थको खपत कम गरी स्वच्छ ऊर्जाको उपभोग बढाउने सम्बन्धमा ऊर्जा, जलश्रोत तथा सिंचाई मन्त्रालयलाई ३ महिनाभित्र कार्यक्रमसहितको रोडम्याप बनाइ उपलब्ध गराउन पनि निर्देशन दिएको हो । 

ज्येष्ठ सदस्यको हैसियतले समितिको सभापतित्व गरेका वामदेव गौतमले सीमावर्ती भारतीय बजारमा इन्धनको तस्करी भइरहेको भन्ने सम्बन्धमा जनगुनासो आएकोले सोबारे तत्काल अध्ययन र छानबिन गर्न नेपाल आयाल निगमलाई निर्देशन दिए । 

समितिले खनिज इन्धनलाई प्रतिस्थापन गर्ने वैकल्पिक ऊर्जाबारे ऊर्जा विज्ञ सुमन बस्नेतसँग छलफल गरेको हो । छलफलमा  वैकल्पिक ऊर्जा प्रवर्द्धन केन्द्रका कार्यकारी निर्देशक डा. मधुसुदन अधिकारी, विद्युत नियमन आयोगका अध्यक्ष डिल्लीबहादुर सिंह, ऊर्जा जलस्रोत तथा सिँचाइ मन्त्रालयका सचिव सुशीलचन्द्र तिवारीलगायत उपस्थिति थिए ।





  • प्रकाशित मिति : असार ८, २०७९ बुधबार १४:१५:४५

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई farakdhar@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया