मधेस प्रदेश सरकारले जनकपुर चुरोट कारखाना लिमिटेड (जचुकाली)लाई नै आफ्नो प्रशासनिक भवन बनाउने भएको छ ।
सुरुदेखि नै प्रशासनिक भवनका रूपमा प्रयोग गर्दै आएको जनकपुर चुरोट कारखानाको प्रांगणमै प्रशासनिक भवन निर्माणका लागि सरकारलाई सिफारिस गरिने भएको हो ।
३५ बिघा क्षेत्रफल जग्गामा रहेको जचुकालीको परिसरभित्रै प्रदेश सरकारको प्रशासनिक भवन, विभिन्न मन्त्रालयका भवन, मुख्यमन्त्री निवास, सचिवालय, मन्त्रीहरूका निवास निर्माण गर्न सकिने गरी समितिले प्रतिवेदन तयार पारेको छ ।
सरकारले भौतिक पूर्वाधार विकासमन्त्री रामसरोज यादवको संयोजकत्वमा जग्गा चयनका लागि सुझाव दिन उच्चस्तरीय समिति गठन गरेको थियो । समितिले प्रदेशको राजधानी क्षेत्रमा पर्ने विभिन्न सार्वजनिक जग्गाको तथ्यांक धनुषा र महोत्तरीका मालपोत तथा नापी कार्यालयसँग लिएर जग्गाको अवस्थाबारे अध्ययन गरेको थियो ।
समितिका संयोजकसमेत रहेका भौतिक पूर्वाधार तथा विकासमन्त्री रामसरोज यादवले जचुकालीमै भवन निर्माण गर्ने सन्दर्भमा आफूहरूले प्रतिवेदन तयार गरिसकेको बताए ।
अहिले भूमि, व्यवस्था, कृषि तथा सहकारी मन्त्रालयबाहेक सबै मन्त्रालय तथा आवासहरू चुरोट कारखानामै रहेको छ ।
फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई farakdhar@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।