खोटाङको खोटेहाङले ल्यायो ५५ करोड ४३ लाखको बजेट

खोटाङको खोटेहाङ गाउँपालिकाले साढे ५५ करोड बराबरको बजेट तथा कार्यक्रम ल्याएको छ । बुधबार सम्पन्न ११ औं गाउँसभामार्फत खोटेहाङले आर्थिक वर्ष २०७९/०८० का लागि ५५ करोड ४३ लाख ९३ हजार १२० रुपैयाँ बराबरको बजेट पारित गरेको हो । 

कुल बजेटमध्ये सशर्त अनुदान, समपुरक अनुदान र बिशेष अनुदान बाहेकको २१ करोड ७० लाख ८० हजार १२० रुपैयाँमध्येबाट नेपाल सरकार राजस्व बाँडफाँडको ९ करोड २७ लाख २३ हजार प्रशासनिक चालुतर्फ छुट्याउँदा बाँकी रहेको १२ करोड ४३ लाख ६५ हजार १२० रुपैयाँको परिधिमा रहेर बजेट तथा कार्यक्रम बनाइएको प्रमुख प्रशासकीय अधिकृत हरिप्रसाद भट्टराईले बताए । 

प्रशासनिक चालूतर्फको बजेट छुट्याएर बाँकी रहेको रकमको ५० प्रतिशत रकमलाई शतप्रतिशत मानेर त्यसको ५० प्रतिशत रकम बराबरको ६ करोड २१ लाख ८२ हजार ५६० रुपैयाँ  वडालाई विनियोजन गरिएको छ । गाउँपालिकाका ९ वडालाई ४५ प्रतिशत भुगोलको आधारमा, ४५ प्रतिशत जनसंख्याको आधारमा र १० प्रतिशत राजस्व क्षमताको आधारमा बजेट दिइएको छ । 

गाउँसभाले रसुवा–पान्धारे सडक सञ्चालनका लागि १ करोड १० लाख, अध्यक्ष/उपाध्यक्ष रोजगार-विकास योजना अन्तर्गत ६० लाख, आर्थिक विकासका लागि कृषि क्षेत्रलाई प्राथमिकतामा राख्दै कृषि विकास तथा पशु सेवा योजना शिर्षकमा ५० लाख, गाउँपालिका प्रहरी सेवा सुरुवातका लागि बजेट विनियोजन गरिएको छ ।

गाउँसभामा गाउँपालिका अध्यक्ष उदिमबहादुर राईले वार्षिक नीति तथा कार्यक्रम, उपाध्यक्ष रुपेश राईले आर्थिक वर्ष २०७८/७९ को प्रगती विवरण तथा आर्थिक वर्ष २०७९/८० को बजेट तथा कार्यक्रम र विनियोजन विधेयक, वडाध्यक्ष धनबहादुर महाराजी खड्काले आर्थिक विधेयक प्रस्तुत गरेका थिए । 

गाउँपालिकामा नेपाल सरकारबाट १० करोड ८० लाख वित्तीय समानीकरण अनुदान, ९ करोड २७ लाख २३ हजार राजस्व बाँडफाँड, २८ करोड १ लाख सशर्त अनुदान, १ करोड ७० लाख समपूरक अनुदान र २ करोड विशेष अनुदान गरी ५२ करोड २८ लाख २३ रुपैयाँ प्राप्त हुने अनुमान गरिएको छ ।



यस्तै, प्रदेश सरकारबाट ५७ लाख ५५ हजार वित्तीय समानीकरण, ५१ लाख १० हजार १२० सवारी कर बाँडफाँड, ५२ लाख ५ हजार सशर्त अनुदान र १ करोड समपूरक अनुदान गरी २ करोड ६० लाख ७० हजार १२० रुपैयाँ प्राप्त हुने अनुमान छ । गाउँपालिकाको कुल आन्तरिक राजस्व अनुमान ५५ लाख गरिएको छ । 



  • प्रकाशित मिति : असार ९, २०७९ बिहीबार ६:२१:४०

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई farakdhar@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया