नेकपा (एस) सचिवालय बैठक : मन्त्री हेरफेर तत्काल टुंग्याउन अध्यक्ष नेपाललाई नेताहरूको दबाब
फाइल तस्वीर

नेकपा (एकीकृत समाजवादी) को सचिवालय बैठकमा पार्टीका नेताहरूले मन्त्री हेरफेरको विषयलाई तत्काल टुंग्याउन दबाब दिएका छन् । बिहीबार पार्टी कार्यालयमा बसेको केन्द्रीय सचिवालयको २७ औँ बैठकमा नेताहरूले अध्यक्ष माधवकुमार नेपाललाई मन्त्री हेरफेरको विषयलाई तत्काल टुंगो लगाउन दबाब दिएका हुन् । 

बैठकपछि सञ्चारकर्मीसँग बोल्दै पार्टीका उपमहासचिव डा. गंगालाल तुलाधरले भने, 'बैठकमा अधिकांश नेताहरूले स्थायी कमिटी र सचिवालयले गरेका निर्णय लागू हुँदैन भनेर प्रश्न गर्नुभयो । नेताहरूबाट पार्टी अध्यक्षले प्रधानमन्त्रीसँग कुरा गरेर छिटोभन्दा छिटो मन्त्रिमण्डल हेरफेरको कार्यान्वयन गर्न आग्रह गर्नुपर्छ भन्ने कुराहरू भएका छन् । गठबन्धनको गन्तव्य अझै नसकिएकोले आगामी प्रतिनिधि र प्रदेश सभाको निर्वाचनमा पनि कायम गरेर जानुपर्छ भन्ने कुरा भयो ।’

उनले बुधबार र बिहीबार गरी दुई दिन बसेको सचिवालय बैठकले शुक्रबार हुने पोलिटब्युरो, शनिबार हुने केन्द्रीय कमिटी र १३ र १४ असारमा हुने केन्द्रीय परिषद्को बैठकका एजेण्डाका बारेमा छलफल गरेको बताए । उनले उक्त बैठकमा पार्टी अध्यक्ष नेपालले प्रस्तुत गर्ने राजनीतिक प्रतिवेदनमाथि पनि छलफल गरेको बताए । 

'भोलि पोलिटब्युरोका बैठक बस्दैछ । शनिबार केन्द्रीय कमिटीको बैठक बस्दैछ । १३ र १४ गते केन्द्रिय परिषद्को बैठक बस्दैछ । सोही बैठकहरूको लागि एजेण्डा तयार गर्नका लागि यो बैठक बसेको थियो भने यी सबै बैठकमा अध्यक्षबाट प्रस्तुत हुने राजनीतिक प्रतिवेदनमाथि हामीले गम्भीर छलफल गरेका छौँ । सामान्य सुझाव पनि राख्ने काम भयो,' उनले भने ।

उपमहासचिव तुलाधरले पार्टीले गरेको निर्णय बहानाबाजी देखाएर प्रधानमन्त्री शेरबहादुर देउवाले रोकेको भन्दै सांसदले त्यसले पार्टीका कार्यकर्ताहरूमा नराम्रो सन्देश गएकोप्रति ध्यानाकर्षण गराएको पनि बताए । उनले गठबन्धनको औचित्य नसकिएकोले आगामी निर्वाचनमा पनि गठबन्धन गरेरै जानुपर्नेमा छलफल भएकोसमेत बताए ।





  • प्रकाशित मिति : असार ९, २०७९ बिहीबार १६:०:३६

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई farakdhar@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया