हेटौँडामा एकलौटी ढंगले बजेट ल्याउन लागेको भन्दै एमालेको असन्तुष्टि

हेटौँडा उपमहानगरपालिकामा बहुमत कार्यपालिका सदस्यसँग छलफल नै नगरी एकलौटी ढंगले बजेट ल्याउन लागेको भन्दै एमालेले असन्तुष्टि व्यक्त गरेको छ । उपमहानगरपालिकाले भोलि शनिबार बजेट ल्याउने तयारी गरेको छ । 

बजेटका विषयमा बहुमत रहेका कार्यपालिका सदस्यहरुसँग कुनै पनि छलफल नगरी नगरसभामा पेस गर्न लागिएको भन्दै एमालेबाट विजयी कार्यपालिका सदस्यहरुले असन्तुष्टि व्यक्त गरेका हुन् । हेटौंडाका १९ वटै वडाहरुका नागरिकलाई सम्बोधन गर्नेगरी बजेट ल्याउनका लागि सबै कार्यपालिका सदस्यहरुका बीचमा छलफल गरेर मात्र बजेट ल्याउनुपर्ने एमालेको उपमहानगरपालिका संसदीय दलका नेता नविन सिग्देलले बताए । 

मेयर मीनाकुमारी लामा र उपमेयर राजेश बानियाँले बजेट निर्माण गर्दा विभिन्न विषयगत समितिमा छलफल नगरेको, कार्यपालिका बैठकले पास नगरेको, चुनावका बेलाका गठबन्धनमा रहेका दलका प्रतिबद्धता अनुसार मात्र बजेट हालिएको, बैठक कार्यविधि संशोधन गर्न मेयर लामाले निवेदन समेत दर्ता गर्न नमानेकोलगायतका वियमा असन्तुष्टि रहेको सिग्देलले बताए । 

यसै विषयमा आज उपमहानगरपालिकामा विजयी एमालेका ५४ जना नगरसभा सदस्यसहितको बैठकले स्थानीय सरकार सञ्चालन ऐन बैठक कार्यविधि संशोधनका लागि ५४ जना नगरसभाका सदस्यहरुले दर्ता गराउनका लागि निवेदन दिँदा समेत दर्ता गर्न अस्वीकार गरिएको बताइएको छ । 

एमालेका प्रदेश कमिटीका सदस्य रघुनाथ खुलाल, जिल्ला अध्यक्ष एकालाल श्रेष्ठ सहितको बैठकले सहमति र सहकार्यबाट मात्र बजेट ल्याउनका लागि नगरका मेयर र उपमेयरलाई आग्रह गरेका छन् ।
 
एमालेका नगरसभाका सदस्यहरुले आफूहरु जनपक्षीय बजेटको पक्षमा रहेको बताउँदै छलफल र सहकार्यका ढोका खुल्ला गरिएकाले यसैअनुसार बजेट पेस गर्नका लागि आग्रह गरिएको एमालेका नगरसभाका सदस्यहरुले बताएका छन् । 

उपमहानगरपालिकाका वडा अध्यक्षहरुलाई समेत कुनै वास्ता नगरी बजेट ल्याउन खोज्नु जनभावनाविपरित भएको हेटौंडा १५ का वडा अध्यक्ष सुनिल मुक्तानले बताए । 



सहकार्य र छलफलका लागि एमालेका तर्फबाट हेटौंडा १८ का वडा अध्यक्ष अनिल बानियाँको संयोजकत्वमा तीन सदस्य समिति चयन गरिएको छ । जसमा सदस्यहरुमा हेटौंडा–१५ का वडा अध्यक्ष सुनिल मोक्तान, हेटौंडा–१० का वडा अध्यक्ष फुर्वा दोर्जे लामा रहेका छन् ।

 



  • प्रकाशित मिति : असार ९, २०७९ बिहीबार १९:१:५९

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई farakdhar@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया