काठमाडौं महानगरको बजेट २५ अर्ब ४१ करोड, २२ अर्ब ३६ करोड आम्दानी हुने प्रक्षेपण

काठमाडौं महानगरपालिकाले आगामी आर्थिक वर्षका लागि कुल २५ अर्ब, ४१ करोड, ९६ लाख, ९६ हजार रुपैयाँको बजेट विनियोजन गरेको छ । शुक्रबार महानगरपालिकाले आर्थिक वर्ष २०७९/०८० को लागि कुल २५ अर्ब, ४१ करोड, ९६ लाख, ९६ हजार अनुमानित बजेट तथा कार्यक्रम तयार पारेको हो । 

आगामी आर्थिक वर्षको बजेट विनियोजनबारे जानकारी गराउँदै महानगरपालिकाकी उपप्रमुख सुनिता डंगोलले बजेटअन्तर्गत महानगरपालिकाको सञ्चित कोषमा जम्मा हुने २२ अर्ब, ३६ करोड, ९५ लाख, ४९ हजार र सामाजिक सुरक्षा भत्तालगायत नेपाल सरकार, प्रदेश सरकार र जग्गा एकीकरण आयोजनाहरुबाट हुने आम्दानी, स्थानीय सञ्चित कोष बाहेकको बजेटमा समावेश हुने कुल ३ अर्ब, ५ करोड, १ लाख, ४७ हजार गरी कुल आगामी आर्थिक वर्षका लागि २५ अर्ब, ४१ करोड, ९६ लाख, ९६ हजार रुपैयाँको बजेट ल्याएको जानकारी दिइन् । 

उनले स्थानीय सञ्चित कोषबाट खर्च हुने रकममध्ये आर्थिक विकास क्षेत्र अन्तर्गतका कार्यक्रमका लागि ५० करोड, २१ लाख, २४ हजार, कार्यालय सञ्चालन तथा प्रशासनिक क्षेत्रका लागि ४ अर्ब, ६८ करोड, ९८ लाख ६० हजार र पूर्वाधार विकास क्षेत्रका लागि ११ अर्ब, ८ करोड, ८९ लाख, ३ हजार बजेट विनियोजन गरिएको बताइन् । 

उपप्रमुख डंगोलले सामाजिक विकास क्षेत्रको लागि १ अर्ब, ६२ करोड, २८ लाख, २२ हजार, सुशासन तथा अन्तरसम्बन्धित क्षेत्रका लागि ४ अर्ब, ४६ करोड, ५८ लाख, ४० हजार बजेट विनियोजन गरेको बताइन् । 

उनले नेपाल सरकार र प्रदेश सरकारबाट प्राप्त हुने सशर्त अनुदानतर्फ १ अर्ब, ३१ करोड, ३७ लाख, ६ हजारको श्रोत सुनिश्चित भएको पनि बताइन् । उपप्रमुख डंगोलले काठमाडौं महानगरपालिकाको आर्थिक वर्ष २०७९/०८० को लागि २२ अर्ब, ३६ करोड, ९५ लाख, ४९ हजार आम्दानी हुने प्रक्षेपण गरिएको बताइन् । 

चालु आर्थिक वर्ष २०७८/०७९ मा महानगरले कुल १८ अर्ब ९५ करोड ७७ लाख रुपैयाँको बजेट विनियोजन गरेको थियो । जसमा जेठ मसान्तसम्म चालुतर्फ ३ अर्ब ५१ करोड ७८ लाख १८ हजार रुपैयाँ खर्च भएको छ भने पुँजीगत एवं पूर्वाधारतर्फ २ अर्ब २६ करोड ८१ लाख ४६ हजार रुपैयाँ र वित्तियतर्फ १८ करोड रुपैयाँ गरी कुल ५ अर्ब ९६ करोड ५९ लाख ६४ हजार खर्च भएको छ । जुन अनुमानित खर्चको ३६.६९ प्रतिशत हो । 





  • प्रकाशित मिति : असार १०, २०७९ शुक्रबार १६:४५:२८

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई farakdhar@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया