नेकपा (एमाले)का अध्यक्ष केपी शर्मा ओलीले प्रचण्ड इमान्दार नभएकाले नेकपा विभाजन भएको आरोप लगाएका छन् ।
अध्यक्ष ओलीले प्रचण्डसँग पार्टी एकता नै गरिएको तर इमान्दारीताका साथ काम नगर्दा पार्टीले विभाजन व्यहोर्नु परेको बताएका हुन् ।
शुक्रबार च्यासलस्थित पार्टी केन्द्रीय कार्यालयमा आयोजित एक कार्यक्रममा बोल्दै उनले बडो दुःखका सफलता हात परेको पार्टीलाई प्रचण्डले प्रतिक्रियावादी सामू अर्पण गर्दा आफूलाई दुखित बनाएको गुनासो पनि गरे ।
पार्टी एकताका बेला दिएको सिट संख्यालाई चरम दुरुपयोग गरेर प्रचण्डले आफूलाई साधारण सदस्यबाट समेत निष्काशन गरे पनि आफूले त्यसलाई जोगाएर अघि बढाएको ओलीको दावी थियो ।
उनले भने, ‘हामीले प्रचण्डलाई लखेटेको होइन । प्रचण्डसँग त एकता नै गरिएको हो । तर, प्रचण्डले एकता गर्दा पनि इमान्दारीताका साथ गर्नुभएन । एकताबद्ध रहँदा पनि इमानका साथ काम गर्नुभएन । र, बेइमानपूर्ण ढंगले हट्नु भयो । एकताको निम्ति बनाइदिएको कमिटी, एकताको निम्ति दिइएको संख्या त्यसलाई यति चरम दुरुपयोग गर्नुभयो कि पार्टीको अध्यक्षलाई साधारण सदस्यबाट निश्कासन गर्नुभयो,' उनले भने ।
ओलीले चरम सत्ताको दुरुपयोग गरेर स्थानीय तह निर्वाचनमा आफ्नो पार्टी केही पछि परेपनि आगामी दिनमा जित सुनिश्चित रहेको दाबी गरे । पपुलर मत संख्यालाई हेर्ने हो भने अहिले पनि आफ्नो पार्टी नै मुलुकको पहिलो राजनीतिक शक्ति रहेको उनले दोहोर्याए । अध्यक्ष ओलीले समाजवादको यात्रा तय गर्ने विचार, संगठन र योजना आफ्नो पार्टीसँग मात्रै रहेको जिकिर गरे ।
फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई news@farakdhar.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, टिकटक, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।