वामदेव ठान्छन् - नेकपा फुट्नुमा प्रचण्ड दोषी

पूर्व उपप्रधानमन्त्री एवं राष्ट्रियसभा सदस्य वामदेव गौतमले तत्कालीन नेपाल कम्युनिस्ट पार्टी (नेकपा) का अध्यक्ष पुष्पकमल दाहालका कारण नेकपा विभाजन भएको आरोप लगाएका छन् ।

शनिबार नेकपा एकता राष्ट्रिय अभियानको कार्यक्रममा बोल्दै सदस्य गौतमले अध्यक्ष दाहालले तत्कालीन अर्का अध्यक्ष एवं प्रधानमन्त्री केपी शर्मा ओलीविरुद्ध अविश्वासको प्रस्ताव ल्याएपछि फलस्वरूप ओलीले अविश्वास प्रस्ताव प्रस्तुत गर्ने स्थान नै ध्वस्त पारेको बताएका हुन् । 

उनले एउटा अध्यक्ष प्रधानमन्त्रीका विरुद्धमा अविश्वासको प्रस्ताव, त्यसको जवाफमा प्रधानमन्त्रीले संसद नै विघटन गर्नु कुनै हिसाबमा उचित नभएको तर्क गरे । उनले पहिलो चरणमा अध्यक्ष दाहालको दोषका कारण नेकपा विभाजित भएकोप्रति लक्षित गर्दै फलस्वरूप ओलीले संसद बन्द गरेको बताए । 

सदस्य गौतमले कम्युनिस्ट एकताकै लागि आफू कुनै समूहमा नलागेको पनि बताए । उनले वामदेवका कारण पार्टी विभाजित भयो भन्ने कुरा केही हदसम्म सत्य रहेकोले आत्मालोचना गरेको बताए । उनले त्यो बेला अध्यक्ष दाहालको समूहमा नगई बीचमा बसेर मध्यस्थता गर्न सकेको खण्डमा कुनै हालतमा पार्टी विभाजन नहुने बताए । 

राष्ट्रियसभा सदस्य गौतमले तत्कालीन अध्यक्ष दाहालले ओलीप्रति लगाएका आरोप फिर्ता नलिँदा पार्टी विभाजन भएको तर्क गरे । उनले ओलीले प्रधानमन्त्री र अध्यक्षमध्ये प्रधानमन्त्री पद छोड्न तयार भइसकेको अवस्थामा पनि प्रचण्डले ओलीमाथि लगाएका आरोप फिर्ता नलिँदा पार्टी विभाजन भएको बताए । उनले अन्तिम बैठकमा अध्यक्ष दाहालले आफूलाई नै सबै दोष दिएपछि आफू मौन बसेको सुनाए । 

'प्रधानमन्त्री फेर्ने कुरामा सहमत नै हुनुहुन्थ्यो प्रचण्ड तर आरोप फिर्ता नलिने अडान गर्नुभयो । मैले मान्नुस्, फिर्ता लिनुस् भने तर मान्नुभएन । केपीकै अगाडि प्रचण्डले मलाई यो सबै सिर्जना गर्ने तपाई हो, मेरो त नाम मात्रै राखेको हो, तपाईको राख्नुपर्ने हो भन्नुभयो म चुप लागेँ’ उनले भने ।



राष्ट्रियसभा सदस्य गौतमले नेपाली कांग्रेस पार्टी दलाल, नोकरशाही, पुँजीपति वर्गको पार्टी नभएको पछिल्ला घटनाक्रमले देखाएको बताए । उनले कांग्रेस पुँजीवादी, सुधारवादी पार्टी हो भन्ने प्रमाणित भइसकेको तर कांग्रेसलाई सरकारको नेतृत्व दिँदा एमसीसीजस्ता सबैकुरा भित्रिने आरोप लगाए । उनले एमसीसीलाई संसदबाट अनुमोदन गर्न पनि प्रधानमन्त्री शेरबहादुर देउवाले बाध्य पारेको बताए । 

राष्ट्रियसभा सदस्य गौतमले स्थानीय निर्वाचनको नतिजालाई हेर्दा नेपाली कांग्रेस आउँदो निर्वाचनमा पनि पहिलो पार्टी बन्ने देखिएको बताए । कांग्रेसलाई नेतृत्व सुम्पिँदा एमसीसीजस्ता कुराले स्थान पाउने भन्दै कम्युनिस्टहरू मिलेर कांग्रेसलाई सँगै लैजानुपर्ने तर कांग्रेसको नेतृत्वमा सरकार बन्न दिनु नहुने बताउनु भयो । उहाँले काँग्रेसको नेतृत्वमा देश विकास हुन नसक्ने पनि दाबी गरे ।



  • प्रकाशित मिति : असार ११, २०७९ शनिबार १३:४९:९

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई farakdhar@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया