प्रधानमन्त्री र प्रचण्डलाई पर्खिदैनौँ, मन्त्रीको शपथ तत्काल नगराए अपमान सम्झन्छौँ : एकीकृत समाजवादी
'मन्त्रीको सूची संशोधन हुँदैन, पार्टीको निर्णय हुबहु कार्यान्वयन हुन्छ'
फाइल तस्वीर

नेकपा एकीकृत समाजवादीले तत्काल नयाँ मन्त्रीहरूलाई शपथग्रहण गराउन प्रधानमन्त्री शेरबहादुर देउवासँग माग गरेको छ ।

शनिबार बसेको एकीकृत समाजवादीको केन्द्रीय समिति बैठकले आफ्नो पार्टीले सिफारिस गरेका मन्त्रीहरूलाई शपथ गराउन प्रधानमन्त्रीलाई  ध्यानाकर्षण गराउने निर्णय गरेको हो ।

बैठकले मन्त्रीहरू हेरफेरको निर्णय कार्यान्वयन गर्न अब प्रधानमन्त्री शेरबहादुर देउवा र नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ लाई नपर्खने निष्कर्ष निकालेको पार्टी प्रवक्ता जगन्नाथ खतिवडाले बताए । मन्त्री हेरफेरको निर्णय तत्काल कार्यान्वयन नगरे पार्टीले त्यसलाई अपमान सम्झने उनले बताए ।

'आजसम्म जति प्रधानमन्त्री र प्रचण्डलाई पर्खियौँ, अब यहाँहरुलाई पर्खिने छैनौँ । तत्काल हाम्रा कामहरू पूरा गर्नुहोस्, नयाँ मन्त्रीहरूलाई शपथग्रहण गराउन लाग्नुहोस् । पार्टीको निर्णयलाई कदर गर्नुहोस् र अब उप्रान्त पनि ढिलो गर्नुभयो भने तपाईंले हामीलाई गरेको अपमान हो भन्ने सम्झने छौँ,' उनले भने ।

उनले नयाँ मन्त्रीका लागि तयार पारिएको सूची संशोधन नहुने पनि प्रष्ट पारे । उनले पार्टीले गरेको निर्णय हुबहु कार्यान्वयन हुने बताए ।  'समय क्रममा नाम थपघट गर्नुपर्ला त्यो पार्टीको आन्तरिक व्यवस्थापन गर्न के गर्नुपर्ला त्यो बेला सोचौँला तर नाम संशोधन गरेर नयाँ मन्त्रिपरिषद्मा पठाइँदैन' उनले भने । उनले पार्टीसँग बार्गेनिङ गर्ने छुट मन्त्रीहरूसँग नभएको बताए ।

सरकारबाट बाहिरिने तयारीमा रहेका पर्यटनमन्त्री प्रेम आलेले पार्टीले सिफारिस गरेका मन्त्रीको नाम समावेशी नभएको भन्दै नयाँ सूची पेस गरेका थिए । उनले नयाँ सूचीमा ललितपुरका कृष्णलाल श्रेष्ठ, डडेल्धुराकी नीरा जैरु, डोल्पाका धनबहादुर बुढा, दाङका हीरा केसीलाई मन्त्री र मुगुका गोपाल बमलाई राज्यमन्त्री बनाउनुपर्ने प्रस्ताव पार्टीमा पेस गरेका थिए ।



पार्टीले तीन साताअघि हाल सरकारमा रहेका मन्त्रीहरूलाई फिर्ता बोलाउँदै नयाँ नाम सिफारिस गरेको थियो । पार्टीले हाल सरकारमा हरेका पर्यटनमन्त्री आलेसहित स्वास्थ्यमन्त्री विरोध खतिवडा, शहरी विकासमन्त्री रामकुमारी झाँक्री र श्रम कृष्णकुमार श्रेष्ठलाई फिर्ता बोलाएको थियो ।

पार्टीले हालका स्वास्थ्य राज्यमन्त्री भवानीप्रसाद खापुङलाई मन्त्रीमा बढुवा गर्दै जीवनराम श्रेष्ठलाई संस्कृति, पर्यटन तथा नागरिक उड्डयन, मेटमणि चौधरीलाई सहरी विकास, शेरबहादुर कुँवरलाई श्रममन्त्री बनाउने निर्णय गरेको थियो । पार्टीको निर्णय प्रधानमन्त्री देउवाले कार्यान्वयन नगर्दा नयाँ मन्त्रीहरूले शपथ ग्रहण गर्न पाएका छैनन् ।



  • प्रकाशित मिति : असार ११, २०७९ शनिबार १९:१:०

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई farakdhar@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया