आज होला एकीकृत समाजवादीका नयाँ मन्त्रीको शपथ ?

झण्डै तीन साताअघि  मन्त्रीका लागि नयाँ नाम सिफारिस गरेको एकीकृत समाजवादी पार्टीको निर्णयलाई प्रधानमन्त्री शेरबहादुर देउवाले हालसम्म पनि कार्यान्वयनमा ल्याएका छैनन् । 

मन्त्री फेरबदलका बारेमा पार्टीभित्र आन्तरिक विवादका बीच एकीकृत समाजवादीले तत्काल नयाँ मन्त्रीहरूलाई शपथग्रहण गराउन प्रधानमन्त्री देउवासँग माग गरिरहेको छ । शनिबार बसेको एकीकृत समाजवादीको केन्द्रीय समिति बैठकले आफ्नो पार्टीले सिफारिस गरेका मन्त्रीहरूलाई तत्काल शपथ गराउन प्रधानमन्त्रीलाई  ध्यानाकर्षण गराउने निर्णय पनि गरेको थियो ।

मन्त्री हेरफेरको निर्णय प्रधानमन्त्री देउवाले तत्काल कार्यान्वयन गर्नुपर्ने बताउँदै एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपालले आइतबारसम्ममा नयाँ मन्त्रीको सपथ हुने बताएका थिए । तर, नयाँ मन्त्री नियुक्त कहिले हुने भन्ने विषयको टुङ्गो लाग्न सकेको छैन ।

मन्त्री हेरफेरको निर्णय पुनर्विचार गर्नुपर्ने पार्टीभित्र माग छ । शुक्रबार बिहान मात्रै चार मन्त्रीसहित १० सांसदले पार्टीमा आठ बुँदे ध्यानाकर्षण पत्र दर्ता गराएका थिए ।

हस्ताक्षर गर्नेमा विरोध खतिवडा, रामकुमारी झाँक्री, प्रेम आले, कृष्णकुमार श्रेष्ठसहित सांसद कृष्णलाल महर्जन, गोपालबहादुर बम, बिनादेवी बुढाथोकी, पुष्पाकुमारी कर्ण कायस्थ, धनबहादुर बुढा र नीरादेवी जैरु थिए । तर, पार्टीमा त्यसबारे व्यापक छलफल नै नभएको भन्दै मन्त्री आलेसहित सांसदहरूले महर्जन, बम, बुढाथोकी, कायस्थ र बुढाले शनिबार हस्ताक्षर फिर्ता लिएका थिए । 

एकीकृत समाजवादीले हालका स्वास्थ्य राज्यमन्त्री भवानीप्रसाद खापुङलाई मन्त्रीमा बढुवा गर्दै जीवनराम श्रेष्ठलाई संस्कृति, पर्यटन तथा नागरिक उड्डयन, मेटमणि चौधरीलाई सहरी विकास, शेरबहादुर कुँवरलाई श्रममन्त्री बनाउने निर्णय गरेको थियो ।  





  • प्रकाशित मिति : असार १२, २०७९ आइतबार ११:४०:९

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई farakdhar@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया