वासिंगटन– अमेरिकी राष्ट्रपति डोनल्ड ट्रम्पले सिरियाबाट अमेरिकी सेना फर्किएपछि कुर्द समुदायमाथि हमला गरे ‘टर्कीलाई आर्थिक रुपले ध्वस्त पार्ने’ धम्की दिएका छन् । आइतबारका दुई ट्विटमा राष्ट्रपति ट्रम्पले ‘कुर्दहरुले पनि टर्कीलाई भड्कउने केही गतिविधि नगरून्’ भन्ने आफ्नो चाहना व्यक्त गरे ।
उत्तरी सिरियामा अमेरिकी फौज कुर्दिस लडाकुसँग मिलेर आइएस लडाकुविरुद्ध लड्दै आएको छ । उता, टर्की भने कुर्दिस समूह पिकेके र वाइपिजीलाई आतंककारी मान्दछ ।
टर्किस राष्ट्रपति रिसेप तैयप अर्डोआन अमेरिकाले कुर्दहरुलाई समर्थन गरेकोमा रुष्ट छन् । र, भाषणहरुमा यो समूहलाई ध्वस्त पार्ने धम्की दिइरहेका छन् ।
राष्ट्रपति ट्रम्पको आइतबारको बयानपछि सिरियाबाट आफ्नो फौज फिर्ता गर्ने उनको नीतिको झनै आलोचना भइरहेको छ ।
मध्यपूर्वको भ्रमणमा आएका अमेरिकी विदेशमन्त्री माइक पोम्पियो साउदी अरबमै रहेका वेला साउदीका शाही परिवारका एक वरिष्ठ सदस्यले ट्रम्पको निर्णयले सिरियामा नकारात्मक असर पार्ने र यसको फाइदा इरान, रुस र सिरियाली राष्ट्रपति बसर अल असदले लिने भन्दै आलोचना गरेको बिबिसीले जनाएको छ ।
के भने ट्रम्पले ?
राष्ट्रपति ट्रम्पले सिरियाबाट सेना फिर्ता गर्ने आफ्नो फैसलाको बचाउ गरेका छन् । बचेकुचेका इस्लामिक स्टेटका लडाकुलाई हवाई हमलाबाटै परास्त गर्न सकिने उनले बताए ।
Starting the long overdue pullout from Syria while hitting the little remaining ISIS territorial caliphate hard, and from many directions. Will attack again from existing nearby base if it reforms. Will devastate Turkey economically if they hit Kurds. Create 20 mile safe zone....
— Donald J. Trump (@realDonaldTrump) January 13, 2019
टर्कीलाई आर्थिक रुपले ध्वस्त पार्ने धम्की दिएका ट्रम्पले उसको अर्थव्यवस्थामाथि कसरी चोट पुर्याउने भने उल्लेख गरेनन् । गत अगस्टमा एक क्रिस्चियन धर्मगुरुको गिरफ्तारीबाट उत्पन्न विवादपछि अमेरिकाले टर्कीमाथि आर्थिक प्रतिबन्ध तथा व्यापारिक कर लगाएको थियो । जसबाट टर्कीको मुद्रा लिराको मूल्यमा भारी गिरावट आएपछि अक्टोबरमा धर्मगुरु एन्ड्र्यु ब्रनसन रिहा भएका थिए ।
राष्ट्रपति ट्रम्पले टर्किस सेना र कुर्द लडाकुबीच २० किलोमिटर चौडा बफर जोन रहनुपर्ने बताएका छन् । सिरियामा अमेरिकी कारबाहीबाट सबैभन्दा बढी फाइदा इरान, साउदी अरब र सिरियाली राष्ट्रपति असदलाई भएको र अब अमेरिकी फौज घर फर्कने समय आएको समेत ट्रम्पले उल्लेख गरेका छन् ।
....Likewise, do not want the Kurds to provoke Turkey. Russia, Iran and Syria have been the biggest beneficiaries of the long term U.S. policy of destroying ISIS in Syria - natural enemies. We also benefit but it is now time to bring our troops back home. Stop the ENDLESS WARS!
— Donald J. Trump (@realDonaldTrump) January 13, 2019
यसैबीच, टर्किस राष्ट्रपति अर्डोआनका प्रवक्ता इब्राहिम कालिनले एक ट्विटमा ‘अमेरिकाले आफ्नो रणनीतिक साझेदारीको सम्मान गर्ने टर्कीको विश्वास रहेको’ उल्लेख गरेका छन् । उनले लेखेका छन्, ‘आतंकवादी तपाईंको मित्र या गठबन्धनको सहयोगी हुन सक्दैन ।’
केही दिनअघि अमेरिकी विदेशमन्त्री पोम्पियोले आफूले टर्कीका विदेशमन्त्री मेबलुत कावासोगलुसँग टेलिफोन वार्ता गरेको कुर्द लडाकुको सुरक्षा सुनिस्चित गर्न टर्कीसँग सम्झौता हुनेमा आफू विश्वस्त रहेको बताएका थिए । अबुधाबीमा बोल्दै उनले भनेका थिए कि अमेरिका टर्कीको ‘आतंकवादीबाट आफ्ना मानिस र आफ्नो क्षेत्र सुरक्षित राख्ने अधिकार’को सम्मान गर्छ । अर्काेतर्फ, यत्तिका वर्षसम्म आफूसँग मिलेर लडेका कुर्दहरु पनि सुरक्षाको हकदार भएको उनले बताएका थिए ।
आफ्ना सहयोगी शक्तिहरुलाई अचम्ममा पार्दै ट्रम्पले गत महिना सिरियाबाट अमेरिकी फौज फिर्ता गर्ने निर्णय लिएका थिए, जसको अमेरिकाभित्रै पनि आलोचना भएको थियो ।
सिरियाको भन्डै ३० प्रतिशत भूभागमा वाइपिजी नेतृत्वको गठबन्धन ‘सिरियन डेमोक्रेटिक फोर्सेज’को नियन्त्रण छ । अमेरिकाले यस गठबन्धनलाई सहयोग गर्दै आएको छ ।
फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई farakdhar@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।