शिक्षामन्त्रीको गुनसो : कक्षा ८ सम्मको दिवा खाजाका लागि अर्थ मन्त्रालयले बजेट दिएन

शिक्षा, विज्ञान तथा प्रविधि मन्त्री देवेन्द्र पौडेलले कक्षा ८ सम्मको दिवा खाजाका लागि अर्थ मन्त्रालयले बजेट नदिएको गुनासो गरेका छन् । आइतबार राष्ट्रिय सभाको बैठकमा विनियोजन विधेयक २०७९ अन्तर्गत सांसदले उठाएका प्रश्नको जवाफ दिँदै शिक्षामन्त्री पौडेलले यस्तो गुनासो गरेका हुन् ।

उनले मन्त्रालयले कक्षा ८ सम्म नै दिवा खाजाको व्यवस्था माग गरेर अर्थमन्त्रालयलाई पठाएको बताए । मन्त्री पौडेलले सरकारको आगामी आर्थिक वर्षका लागि प्रस्तुत गरेको नीति तथा कार्यक्रममा कक्षा ८ सम्म दिवा खाजा पुर्याइने भने पनि बजेट प्रस्तुत हुँदा कक्षा ८ सम्म पुर्‍याउने गरी भन्ने भाषाको प्रयोग गरिएको बताए । उनले यो गल्ती मन्त्रालयको तर्फबाट नभएको उल्लेख गर्दै यसप्रकारका सबै त्रुटीहरू सच्याउन आवश्यक रहेको पनि बताए । 
 
‘दिवा खाजा हामीले कक्षा ८ सम्म नै भनेर पठाएका थियौँ । ६ सम्म थपिएर आएको हुँदा खुशी व्यक्त गर्दछु । तर कक्षा ८ सम्म हामीले गरेको प्रस्ताव आएन । अर्थ मन्त्रालयले पनि बजेट कमी भयो भन्नुभएको छ । नीति तथा कार्यक्रममा आयो, बजेटमा यो आएन । बजेटमा ८ सम्म पुर्‍याउने गरी हाललाई यो वर्ष छ भन्ने भाषामा आयो । यो मन्त्रालयको तर्फबाट भएको त्रुटी भन्दापनि यसप्रकारका त्रुटीहरू समग्र सच्याउनुपर्छ भन्ने कुरा जायज छ । पेपरलेस हुनुपर्छ भन्ने कुरा उठाउनुभएको छ । यो ठिक हो,’ मन्त्री पौडेलले भने, ‘आर्थिक वर्षदेखि देशभरका विद्यालयहरुमा भौतिक पूर्वाधारको कुरा, विद्यार्थी संख्या, मर्जको कुरा, २ हजार भन्दा बढी विद्यार्थी भएको स्थानमा बस दिने कुरा छ । सम्पूर्ण पुस्तकहरू पनि डिजिटल विधिद्वारा पुर्‍याउने र पेपरलेस टोटल बनाउनको निम्ति डिजिटल बोर्ड र कम्प्युटरको प्रचुरता सबै ठाउँमा हुनुपर्छ । 

उनले शिक्षा सम्बन्धी हरेक कुराहरू डिजिटल बनाउन मन्त्रालय प्रतिवद्ध रहेको पनि बताए । मन्त्री पौडेलले सबै क्षेत्रमा पेपरलेस प्रविधि अघि बढाउने कुरा मन्त्रालयको प्राथमिकतामा रहेको बताए । 
 





  • प्रकाशित मिति : असार १२, २०७९ आइतबार १३:४९:५२

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई farakdhar@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया