कृष्ण राई र प्रेरणा विद्यालयलाई यस वर्षको मदन भण्डारी राष्ट्रिय पुरस्कार
फरकधार / १२ असार, २०७९

मदन भण्डारी फाउण्डेसनले हरेक वर्ष प्रदान गर्दै आइरहेको मदन भण्डारी राष्ट्रिय पुरस्कार यस वर्ष धरानका कृष्ण राईलाई पाउने भएका छन् । यसैगरी फाउण्डेसनले यो वर्षबाट सुरु गरेको मदन भण्डारी रूपान्तरण नेतृत्व राष्ट्रिय पुरस्कार प्रेरणा माध्यमिक विद्यालय ललितपुरले पाउने भएको छ । दुवै पुरस्कारको राशि एक–एक लाख रुपैयाँ रहेको छ ।



सोताङ अर्गानिक फार्म प्रालि सञ्चालनमार्फत राईले अर्गानिक खेती र समग्र उत्पादन, प्रोसेसिङ र बजारीकरणमा पुर्याएको योगदान स्वरूप उनलाई यो वर्षको मदन भण्डारी राष्ट्रिय पुरस्कार प्रदान गर्न लागिएको फाउण्डेसनले जनाएको छ । 

एक लाख राशिको उक्त पुरस्कार ७१औँ मदन जयन्तीको अवसरमा यही असार १४ गते राष्ट्रिय सभामा आयोजना हुने विशेष कार्यक्रममा उनलाई प्रदान गरिनेछ । 



प्रेरणा माध्यमिक विद्यालय ललितपुरले उमेर र विपन्नताको कारण शिक्षाको पहुँचबाट टाढा हुन पुगेका किशोरी र महिलालाई विद्यालय शिक्षाको पहुँचमा पुर्याउने अभियानको नेतृत्व गरेको भन्दै यो वर्षको मदन भण्डारी रूपान्तरण नेतृत्व राष्ट्रिय पुरस्कार प्रदान गर्न लागिएको फाउण्डेसनले जनाएको छ । 



फाउण्डेसनले प्रत्येक वर्ष प्रदान गर्ने राष्ट्रिय पुरस्कार  यसअघि हास्यकलाकार मह जोडी, सहिद पार्क हेटौँडा, मुटुरोग विशेषज्ञ डा. भगवान कोइराला र सामाजिक अभियन्ता महावीर पुन, धुर्मुस सुन्तली फाउण्डेसन, प्राडा सुबोध शर्मा, स्टाफ नर्स सुनिता सहकारी र एम्बुलेन्स चालक बोमबहादुर गुरुङले प्राप्त गरिसकेका छन् ।  

दुवै पुरस्कारहरू यही असार १४ गते राष्ट्रियसभामा मदन भण्डारीको ७१औँ जन्म जयन्तीका अवसरमा आयोजना गरिने कार्यक्रममा फाउण्डेसनका संरक्षक, पूर्वप्रधानमन्त्री एवं नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले प्रदान गर्ने फाउण्डेसनले जनाएको छ ।

  • प्रकाशित मिति : असार १२, २०७९ आइतबार १८:४१:१२,  

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई news@farakdhar.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, टिकटक, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्


यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया