योगेश भट्टराईको सुझाव : माधव नेपालले संन्यास लिए हुन्छ
फाइल तस्वीर

नेकपा एमालेका सचिव एवं सांसद योगेश भट्टराईले नेकपा (एकीकृत समाजवादी) का अध्यक्ष माधवकुमार नेपाललाई संन्यास लिएर बस्न सुझाव दिएका छन् ।

आइतबार प्रतिनिधिसभाको बैठकपछि सञ्चारकर्मीहरूसँग कुरा गर्दै सांसद भट्टराईले अध्यक्ष नेपाल राजनीति र जीवन दुवैको उत्तरार्द्धमा रहेकोले संन्यास लिएर बस्न सुझाव दिएका हुन् । 

उनले केही दिनअघि अध्यक्ष नेपालले १० भाइ एमालेका दास हौ, तिमीहरुले हाम्रो खैरो खन्छौ भन्ने भाषण गरेकोप्रति सांसद भट्टराईले माधव नेपाल जत्तिको शीर्ष नेताले सम्हालिएर बोल्नुपर्ने बताए । उनले समाजवादीका अध्यक्ष नेपाल राजनीतिबाट नै अवकाश लिने बेलामा अर्को पार्टी बनाउँछु भन्दै धुलो उडाउनुको तुक नरहेको पनि स्पष्ट पारे । 

सांसद भट्टराईले आफूले गरेका गल्तीहरूलाई आत्मसाथ गर्दै नयाँ पुस्तालाई राजनीति, पार्टी, मुलुक सुम्पेर आफू आनन्दले बस्न सुझाव दिए । उनले मुख छोड्दै हिँड्ने हो भने आफूलाई पनि त्यो भन्दा धेरै मुख छोड्न आउने बताए ।

सांसद भट्टराईले नेकपा एमालेको विभाजनको औचित्य कहिल्यै नरहेको भन्दै विभाजित भएर जानेहरूले आत्मबोध गरेर आए पार्टीमा स्वागत गर्ने बताए । उनले समाजवादीका नेताहरुले एमालेले शर्त माने एकता हुने कुरा गर्नुको तुक नरहेको स्पष्ट पारे ।

त्यस्तै, नेकपा एमालेका सांसद शेरबहादुर तामाङले सबै नेताहरुले घमण्ड त्यागेर समीक्षा गर्न जरुरी रहेको बताए । उनले कम्युनिष्टहरुको जनमत लगभग दुई तिहाइ भएपनि विभाजित हुँदा त्यसको अर्थ नदेखिएको बताए । उनले एकीकृत समाजवादी पार्टीले एकता गर्ने कुरा राखिएका शर्तहरुमा छलफल हुन जरुरी रहेको बताए ।



त्यस्तै, नेकपा एमालेका सांसद खगराज अधिकारीले मुल घरमा फर्किन चाहनेहरुलाई एमालेले स्वागत गर्ने बताए । उनले आफ्नो बाटो गलत भयो भनेर समीक्षा गर्नेहरुलाई एमालेले क्षमता अनुसारको जिम्मा दिने पनि बताए ।

सांसद अधिकारीले नेकपा एमालेसँग विभाजित भएर जानु आफ्नै गल्ती रहेको कुरा एकीकृत समाजवादीका पछिल्ला कार्यहरुले पुष्टि गरेको दाबी गए ।



  • प्रकाशित मिति : असार १२, २०७९ आइतबार १९:३२:२७

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई farakdhar@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया