सुदूरपश्चिम सरकारको बजेट : मन्दिर र चर्चमा २८ करोड विनियोजन

योजना हाल्न कमिसन खाएको आरोप लागिरहेको सुदूरपश्चिम प्रदेश सरकारले मन्दिर र चर्चमा २८ करोड बजेट विनियोजन गरेको छ । आर्थिक वर्ष २०७७/७८ मा १५ करोड र २०७८/७९ मा करिब १७ करोड बजेट समुदाय विशेषका मन्दिर र चर्च निर्माण गर्न खर्च गरेको प्रदेश सरकारले आगामी आर्थिक वर्षमा मन्दिर निर्माण गर्न २८ करोड बढी बजेट छुट्याएको हो ।

सरकारले प्रदेश पर्यटन विकास कार्यक्रमको बजेटबाट ९ जिल्लाका स्थानीय ३४४ मन्दिर र चर्च निर्माण गरिने वार्षिक विकास कार्यक्रममा समेटेको छ । मन्दिर र चर्चका लागि सबैभन्दा बढी ८ करोड ३१ लाख आर्थिक मामिला मन्त्री प्रकाश रावलको जिल्ला कञ्चनपुरमा छ, भने सबैभन्दा कम ९० लाख बाजुराका लागि विनियोजन गरिएको छ । 

कञ्चनपुरको भीमदत्त नगरपालिका–२, ४, ५, ६, १५, १८ र १९ तथा वेदकोट नगरपालिका–८ मन्त्री रावलको निर्वाचन क्षेत्र हो । उनको निर्वाचन क्षेत्रमा ५ देखि २० लाख रूपैयाँसम्मका योजना मन्दिर निर्माणमा छन । उनले कञ्चनपुरको भीमदत्त नगरपालिका–१८ को शिवमन्दिरमा गौराघर निर्माणका लागि १५ लाख, भीमदत्त–४ को सिद्धबाबा मन्दिर निर्माणमा १५ लाख, भीमदत्त–१२ मा सन्त निरंकारी सामुदायिक  भवन निर्माणमा १५ लाख, भीमदत्त–९ को दोगाड भूमिराज गौरा मन्दिरका लागि ७ लाख, भीमदत्त–३ शान्तिटोलमा गोरी महेश्वर मन्दिरको पूर्वाधार निर्माणमा १० लाख, भीमदत्त–३ को विश्वकर्मा मन्दिर पूर्वाधारका लागि १० लाख, भीमदत्त–७ गौरी महेश्वर मन्दिरको पूर्वाधारका लागि १५ लाख, भीमदत्त–१५ को सत्यवादी टोलको गौरादेवी मन्दिर निर्माणका लागि १० लाख विनियोजन गरेका छन् ।

मन्त्रीको निर्वाचन क्षेत्र रहेको भीमदत्त–८ को हुनैनाथ गौराघर मन्दिर निर्माणमा ८ लाख, भीमदत्त–९ जगतनाथ मन्दिर पूर्वाधार निर्माणमा १५ लाख, भीमदत्त–३ को गौरा भवानी मन्दिर निर्माणमा ८ लाख, भीमदत्त–३ को विश्वकर्मा मन्दिर भजन मण्डली भवन निर्माणका लागि १० लाख, भीमदत्त–९ को दोगडा भूमिराज गौरा मन्दिर निर्माणका लागि १२ लाख, भीमदत्त–९ को नौ गाउँफाटा गौरादेवी मन्दिर निर्माणमा १५ लाख बजेट उनले छुट्याएका छन् ।

भीमदत्त–९ कै शिवटोलको सिद्धवैजनाथ मन्दिर निर्माणका लागि १०  लाख, भीमदत्त–९ कै कालिका मन्दिर निर्माणका लागि १० लाख, भीमदत्त–२ को थुनुवा मन्दिर निर्माणका लागि ८ लाख, भीमदत्त–९ को प्राचिन वैजनाथ मन्दिर निर्माणका लागि १० लाख, भीमदत्त–८ को तिलाचौर गौरादेवी मन्दिर निर्माणका लागि १० लाख, भीमदत्त–३ को विष्णु मन्दिर निर्माणका लागि १० लाख, भीमदत्त–१२ को वैजनाथ मन्दिरको पर्खाल निर्माणका लागि ५ लाख, भीमदत्त १० को डाडाबाघ मन्दिर निर्माणका लागि १० लाख, भीमदत्त–१० कै हुनशिखर मन्दिर निर्माणका लागि १० लाख विनियोजन गरिएको छ ।

भीमदत्त–७ को वैजनाथ उदयदेव मन्दिर निर्माणमा १० लाख, भीमदत्त–८ मा गौरादेवी मन्दिर निर्माणका लागि १० लाख, भीमदत्त–३ को निमौन मन्दिर निर्माणका लागि १० लाख, भीमदत्त–१० डाडाबाघ निर्माणमा ५ लाख, भीमदत्त–७ को पशुपति टोलमा मन्दिर निर्माणमा १० लाख, भीमदत्त–२ को प्रगति टोलमा रहेको शिव मन्दिरको पर्खाल निर्माणमा १० लाख, भीमदत्त–२ को पार्की टोलमा रहेको बैजनाथ मन्दिर निर्माणमा १० लाख रुपैयाँ छुट्याइएको छ ।



भीमदत्त–१९ को थुनुवा मन्दिर निर्माणमा १० लाख, भीमदत्त–५ को मष्टा मन्दिर निर्माणमा १० लाख, भीमदत्त–८ को हुनैनाथ मन्दिर निर्माणमा ८ लाख, भीमदत्त–३ को विष्णु मन्दिर निर्माणमा २० लाख, भीमदत्त–१ को वैजनाथ मन्दिर निर्माणमा २० लाख, भीमदत्त–४ को कृष्ण मन्दिर निर्माणमा ८ लाख, भीमदत्त–१ को वैजनाथ मन्दिर निर्माणमा १० लाख, भीमदत्त–१५ को सत्या आदर्श टोलको गोरादेवी मन्दिरका लागि १० लाख विनियोजन गरिएको छ ।

प्रदेशका ९ जिल्लामा ३ सय ४४ मन्दिर र चर्चका लागि सरकारले ५ लाखदेखि ३० लाखसम्म छुट्याएको छ । प्रदेश सरकारले आगामी वर्षको बजेटमा कैलालीमा ४४ मन्दिर र चर्च निर्माण गर्न ३ करोड ८५ लाख, बैतडीमा ४६ मन्दिरका लागि ४ करोड ९ लाख, डोटीमा २४ मन्दिरका लागि १ करोड ५८ लाख बजेटको व्यवस्था गरेको छ । 



यसैगरी, अछामका २७ मन्दिरका लागि २ करोड २० लाख, बझाङमा ४४ मन्दिरका लागि ३ करोड २६ लाख, डडेल्धुरामा १८ मन्दिरका लागि १ करोड ६८ लाख र दार्चुलामा ३४ मन्दिरका लागि २ करोड ७४ लाख बजेट छुट्याइएको छ । 

सरकारले आर्थिक गतिविधि र रोजगारी बढ्ने खालका कार्यक्रम ल्याउनुपर्नेमा सेटिङमा खुद्रे कार्यक्रम ल्याउनु दुःखद भएको प्रदेश सभा सदस्य भरतबहादुर खड्काले आरोप छ । ‘मन्दिर बनाउने कुरा सामाजिक रूपमा ठिक होला तर सरकारले नागरिकलाई आर्थिक समृद्धि हुने योजनालाई प्राथमिकता दिनुपर्छ भन्ने मेरो मान्यता हो,’ उनले भने,  ‘प्रदेश सरकारले मन्दिरै मन्दिरको मात्र होइन, कुनै पनि उत्पादकत्व वृद्धि हुने खालको योजना ल्याएको छैन । सबै सेटिङमा ल्याइएको छ ।’

यस्तै प्रमुख प्रतिपक्षी दल नेकपा एमालेले प्रदेश सरकारले यो पटक निकै विकृति बजेट ल्याएको आरोप लगाएको छ । पर्यटन प्रबर्द्धनको बजेट मन्दिरमा खन्याएर पर्यटनको विकास नहुने एमालेको तर्क छ । व्यक्ति विशेषलाई पोस्न खुद्रे कार्यक्रमले बजेट पुस्तिका भरेको पूर्व मन्त्री पठानसिंह बोहराले बताए । ‘प्रदेश सरकारले यो पटक व्यवस्थित र सुधारिएको बजेट प्रस्तुत गर्नुपर्थ्यो तर, सरकारको यो अन्तिम बजेट विकृत आयो,’ उनले भने, ‘प्रतिपक्षीले मात्रै होइन, सत्तापक्षबाट पनि यसमा बिरोध छ ।’

प्रदेश सरकार गठन भएदेखि नै बजेटका सन्दर्भमा राजनीतिक दल, नागरिक समाज, अर्थशास्त्री र मिडिया क्षेत्रबाट आलोचना हुँदै आएको प्रदेश सभा सदस्यले बताएका छन् । तर, बजेट तयार गर्दा विगतका गल्ती र कमजोरीबाट पाठ नसिकेर सरकारले सिमित व्यक्तिलाई लाभ हुने बजेट ल्याएको सत्तापक्ष र प्रतिपक्षका सांसदको आरोप छ ।

  • प्रकाशित मिति : असार १३, २०७९ साेमबार १३:२०:४

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई farakdhar@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया