रामकुमारी झाँक्रीलाई खुल्ला पत्र: तपाईंको आँसुको आशय के थियो ?
फरकधार / १४ असार, २०७९
फाइल तस्वीर

माननीय रामकुमारी झाँक्रीज्यू,



तपाईंको आँसुको आशय के थियो ?  संयोगले वा नियतवश पत्रिकाले तपाईको अनुहार छाप्यो । तपाईं परिचित हुनुभयो । आन्दोलनकारी लाखौँ थिए । तिनको योगदान तपाईको भन्दा हजारौँ गुणा बढी थियो । मौकामा हान्न जान्ने तपाईं मन्त्री हुनुभयो । तपाईभन्दा योग्य र त्यागी लाखौँ अरू पनि त छ्न् । तिनीहरू तपाईं मन्त्री हुँदा कोही रोएनन् । तपाईं मन्त्री हुँदा कतै शोकसभा राखेको खबर छापिएन । तपाईविरुद्ध नाराजुलुस लागेको दृश्य पनि टिभी देखाइएन ।

तातो मायाको अन्त्य पनि चाँडो र चिसो हुन्छ । यो तपाईलाई भन्दा बढ्ता अनुभव मलगायत धेरै युवामा छ । हतारको यात्रामा हिँडेकाहरूमध्ये तपाईं पनि एक हुनुहुन्छ ।



अब तपाईलाई राजतन्त्रविरोधी आन्दोलनतर्फ फर्काउँछु । त्यतिबेला म १७ वर्षको थिएँ । भर्खर विद्यार्थी राजिनितिमा जोडिएको थिएँ। आन्दोलनको भिडमा  म पनि राजतन्त्रिवरोधी नारा घन्काइरहेका थिए । शिरमा पट्टी बाँधेर राजतन्त्रको पतनका लागि आन्दोलनरत हजारौँको भीडबाट ढुंगामुढा गर्ने दशौँ हजार आन्दोलनकारीमा तपाईलाई  नै किन देख्यो क्यामेराले ? यसको जवाफ तपाईसँग छैन होला पनि । राजतन्त्रको अन्त्यका लागि लड्ने हजारौँ योद्धा बलिदानी अनि सहिदको रगतको बलमा तपाईं मन्त्री हुनुभएको हो । तपाईलाई याद छ कि सम्झाउनुपर्छ ?



१८३१ सालदेखिको राजतन्त्र ढल्यो । राजगद्दी त्याग्दा राजपरिवारका कुनै सदस्यको आँखामा आँसु देखिएन र देखाइएन । कसैको गला अवरुद्ध भएको सुनिएन।  राष्ट्रका नाममा सम्बोधन गरिरहेका ज्ञानेन्द्रको गलामा कम्पन, अनुहारमा भग्नावशेष, ग्लानि, कुन्ठा आदि झल्किएको थिएन।

जनताको नासो जनतामा .... भनिरहँदा ज्ञानेन्द्र न बेहोस भए न त उनले मानसिक सन्तुलन गुमाए।  सत्ताबाट लखेटिनुपर्दा उनी हतास पनि देखिएनन। सम्झनुस् त हजारौँ योग्य, क्रान्तिकारी, सक्षमहरूलाई पछि पारेर तपाईं मन्त्री हुनुभएको थियो । त्यो बेलाको विजयी मुस्कान आजसम्म सम्झन्छु तपाईको । 

माननीय रामकुमारी झाक्रीज्यू,

तपाईभन्दा लाखौँ योग्य र त्यागी सत्ताबाहिर आफ्नो त्यो एकदिनको पर्खाइमा छन् । देश परिवर्तनका पक्षमा, रूपान्तरणका पक्षमा क्रान्ति गर्नेलाई भावुक हुने अधिकार छ ? ढंगले एउटा विषयमा सही तरिकाले काम गर्न नजान्ने, बोल्न नजान्ने तपाईं सहरी विकासमन्त्री हुनु मात्र संयोग थियो । 

योग्यता, क्षमता र राजनीतिक योगदानमा तात्विक भिन्नता छन् । फरक कुरा हुन् । अँ, तपाईं किन रुनुभयो ? किन अवरुद्ध भयो तपाईको गला ?  कि राजतन्त्रलाई सम्झनुभयो ? कि पुरानो पार्टी एमालेलाई सम्झनुभयो ? कि आफ्नै नजरबाट झरेको महसुस भयो र झार्नुभयो आँसुलाई पश्चातापले ?

राज्यको सर्वांगीण विकास र समग्र रूपन्तरणका लागि जीवन उत्सर्ग गर्ने योद्धा, क्रान्तिकारी वा त्यागीलाई दुख्यो त्यसैले रोएँ भन्ने अधिकार हुन्न ! नत्र, गुमाएका सबैको भर्पाइ दिन तयार हुनुहोस् ।

-दुर्गाप्रसाद खनाल

  • प्रकाशित मिति : असार १४, २०७९ मंगलबार १७:२३:३७,  

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई news@farakdhar.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, टिकटक, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्


यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया