वामदेव गौतमको तर्क : कम्युनिस्ट एकीकृत भए मात्रै देश विकास सम्भव

राष्ट्रियसभा सदस्य एवं पूर्व उपप्रधानमन्त्री वामदेव गौतमले नेपालमा कम्युनिस्ट आन्दोलन नै धराशायी बन्दै गइरहेको बताएका छन् ।

मंगलबार काठमाडौंमा नेकपा राष्ट्रिय एकता अभियान पार्टीको घोषणा गर्दै यस्तो बताएका हुन् । उनले आफूले जग हालेको र आन्दोलन सुरु गरेको कम्युनिस्ट पार्टी नै आज धराशायी बनेकोले कम्युनिस्ट एकताका लागि नै आफूले पार्टी घोषणा गरेको बताए । 

उनले आफूले आज घोषणा गरेको पार्टी उद्घाटनताका नेपाल नै चकित हुने दाबी गरे । उनले आफू हालसम्म गएका पार्टी सुदृढ र राम्रो बनेको दाबी गर्दै उद्घाटनका बेला हजारौँ मानिस आफ्नो साथमा हुने विश्वास व्यक्त गरे । 

'मैले आज पार्टीको जुन शिलान्यास गरेको छु, उद्घाटन गर्ने बेलामा नेपाल चकित हुनेछ । लाखौँ व्यक्तिहरु यो पार्टीको वरपर गोलबन्दी हुनेछन् । म जुन पार्टीमा जान्छु त्यो पार्टी त्यस्तै हुन्छ । विगतमा पनि त्यस्तै भएको थियो । म जहाँ-जहाँ सामेल भएको छु, इमान्दार र बलिदानी भावना साथ निःस्वार्थ भावनाका साथ काम गरेको छु,’ उनले भने ।

सदस्य गौतमले पार्टीमा नातेदारलाई राखेको भन्नेमा कुनै सत्यता नरहेको भन्दै आफ्नै बचाउ गरेका छन् । उनले कुनै पनि मानिस केमा लाग्ने भन्ने कुरा स्वतन्त्र रहेकोले पार्टीमा परिवारका सदस्य रहे पनि पार्टी नै कम्युनिस्ट आन्दोलन र एकतालाई सफल पार्नका लागि बनेको बताए । 

उनले आफू कुनै पदमा रहनका लागि पार्टी नखोलेको बताए । सदस्य गौतमले आफूले जग हालेको पार्टीबाट नै ठूला नेताहरु पैदा भएको दाबी गर्दै अहिले पनि कुनै कम्पनी खोलेर आफ्नो लाभ पूरा गर्न नलागेको बताए ।



उनले भने, ‘पदमा रहन र परिवारका सदस्य आफ्नै पार्टीमा राखेको भन्ने विषय सत्य होइनन् । केन्द्रीय कमिटीमा पनि हुनुहुन्छ, मेरा छोरा र श्रीमती । तर मेरो सिंगो पार्टी कम्युनिस्ट आन्दोलनमा छ । मेरा सबै सन्तान, आफन्त आन्दोलनमा लागेका छन् । आज होइन, कठिन परिस्थितिमा । मैले धेरै कठिन परिस्थितिमा पार्टी निर्माण गरेको छु, मैले जग हालेको ठाउँमा आज धेरै ठूला नेता पैदा हुनुभएको छ । मैले कुनै कम्पनी खोलेर आफ्नो लाभ पूरा गर्नको लागि लगाएको छैन ।'

सदस्य गौतमले गत स्थानीय तहको निर्वाचनमा कम्युनिस्ट कमजोर बनेको स्पष्ट देखिएको भन्दै अब पनि कम्युनिस्ट एकतावद्ध नहुने हो भने आगामी निर्वाचनमा नेपाली कांग्रेसले बहुमत प्राप्त गर्ने दाबी गरे । उनले आगामी ५ वर्ष नेपाली कांग्रेसले गठबन्धन गरेर अघि बढे पनि त्यसपछिका दिनमा कांग्रेसलाई कुनै गठबन्धनको आवश्यकता नपर्ने अवस्था बन्दै गएको बताए ।



सदस्य गौतमले भने, ‘अब केही समयपछि प्रतिनिधि र प्रदेश सभाको निर्वाचन हुँदैछ, यदी एकता वा कार्यगत एकता कम्युनिस्टहरूले गर्न सकेनन् भने वा त बहुमत नै प्राप्त गर्नेछ नेपाली कांग्रेसले गठबन्धनबाट, नभए पनि सबैभन्दा ठूलो पार्टीको रुपमा प्रतिनिधि सभा र प्रदेश सभामा स्थापित हुनेछ । ५ वर्षसम्म नेपाली कांग्रेसको मातहतमा सबै रहनेछ र दोस्रो निर्वाचनमा नेपाली कांग्रेसलाई गठबन्धनको आवश्यकता पर्ने छैन ।’

सदस्य गौतमले नेपाली कांग्रेस सत्तामा रहँदा विकासको नाममा जे पनि गर्ने गरेको आरोप लगाए । उनले एकीकृत भएको कम्युनिस्ट आन्दोलन र पार्टी अघि बढे मात्रै देश विकास सम्भव रहेको जिकिर गरे । उनले अहिले पनि दल दर्ता भइसकेका र नभएका गरी करिव ५/१० वटा संगठनहरु आफ्नो साथमा रहेको भन्दै अब नेपालको कम्युनिस्ट आन्दोलनलाई सुदृढ बनाउँदै अघि बढ्ने बताए ।

  • प्रकाशित मिति : असार १४, २०७९ मंगलबार २०:५१:२५

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई farakdhar@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया