रंगेलीमा माउन्ट मकालु स्कुलको बसले किचेर सोही विद्यालयका विद्यार्थीको मृत्यु, स्थिति तनावग्रस्त

मोरङको रंगेलीमा आज दिउँसो स्कुल बसले किचेर एक विद्यार्थीको मृत्यु भएको छ भने एक बालिका गम्भीर घाइते भएकी छन् । 

रंगेली–७ स्थित माउन्ट मकालु इङ्ग्लिस बोर्डिङ स्कुलको बसले आज दिउँसो करिब साढे तीन बजेतिर सोही विद्यालयमा अध्ययनरत दुई बालबालिकालाई किचेको थियो । 

स्कुल छुट्टी भएपछि विद्यार्थी बाहिर निस्कने क्रममा सोही स्कुलको बस अनियन्त्रित भएर किच्दा रंगेली–७ का महादेव मण्डलका छोरा ५ वर्षीय दिव्यांस भनिने रिपिक मण्डलको मृत्यु भएको हो । 

दुर्घटनामा रंगेली–६ चोप्राहाका स्थानीय नरेश मण्डलकी पाँच वर्षीया छोरी सोनमकुमारी मण्डल गम्भीर घाइते भएकी छिन् । उनको विराटनगरस्थित न्यूरो अस्पतालमा उपचार भइरहेको इलाका प्रहरी कार्यालय रंगेलीले जनाएको छ । 

विद्यालयको लापरबाहीका कारण विद्यार्थीको मृत्यु भएको भन्दै स्थानीय आक्रोशित बनेका छन् । आक्रोशित स्थानीयले स्कुलविरुद्ध नाराबाजी गर्दै सडकमा टायर बालेर प्रदर्शन गरिरहेका छन् । 



आक्रोशित स्थानीयले स्कुलको दुईवटा गाडीमा तोडफोडसमेत गरेका छन् । अहिले रंगेली बजारको स्थिति तनावग्रस्त छ । यतिबेला बाक्लो संख्यामा सुरक्षाकर्मी परिचालित भएका छन् ।



  • प्रकाशित मिति : असार १४, २०७९ मंगलबार १७:५४:२६

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई farakdhar@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया