काठमाडौं महानगरपालिकाले सडकमा खानेकुरा बेच्न रोक लगाएको छ ।
पछिल्लो समय काठमाडौं उपत्यकाका विभिन्न ठाउँमा हैजाका बिरामी बढ्दै गएका छन् । हैजा नियन्त्रणका लागि भन्दै महानगरले मंगलबारदेखि सडकमा खानेकुरा रोकेको हो । आदेशको अवज्ञा गरे जरिवानासहित कारबाही गर्ने भन्दै महानगरपालिकाले चेतावनी दिएको छ ।
होटल रेष्टुरेन्टको खाद्य स्वच्छता हेर्न खाद्य प्रविधि तथा गुण नियन्त्रण विभागलाई अनुरोध गरेको महानगरका स्वास्थ्य विभागका प्रमुख बलराम त्रिपाठीले जानकारी दिए । उनले पानीको पाइपलाइन तथा ढल प्रणालीको अवस्था हेर्न तथा सुधार गर्नसमेत काठमाडौं उपत्यका खानेपानी लिमिटेडलाई अनुरोध गरेको बताए ।
सहरी स्वास्थ्य क्लिनिक र सहरी स्वास्थ्य प्रवर्द्धन केन्द्रलाई जीवनजल, पानी शुद्ध गर्ने औषधिको अभाव नहुने गरी तयारी अवस्थामा राखेको र बिरामीलाई अस्पताल लैजानु परे नेपाल एम्बुलेन्स सेवाको सुविधा लिन सक्ने गरी प्रबन्ध मिलाइएको त्रिपाठीले बताए ।
जनस्वास्थ्यसम्बन्धी जोखिम पूर्वअनुमान गरेर व्यवस्थापनका काम थालिएको महानगरका प्रमुख बालेन्द्र शाह (बालेन)ले बताएका छन् । जनस्वास्थ्यको सवालमा महानगरले कुनै पनि कुरामा सम्झौता नगर्ने बताउँदै प्रमुख शाहले नगरवासीलाई पानी उमालेर मात्र पिउन र खाद्य स्वच्छतामा ख्याल गर्न अपिल गरेका छन् ।
नागरिकको सहजताका लागि महानगरपालिकाले २४ सै घण्टा ११८० हटलाइन टेलिफोन सोमबारदेखि सञ्चालनमा समेत ल्याएको छ ।
फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई farakdhar@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।