सिँचाइ र मलको अभाव, सुदूरपश्चिममा ४० प्रतिशत मात्र रोपाइँ सकियो

सुदूरपश्चिम प्रदेशमा धान बालीको खेती गरिने ६० प्रतिशत जग्गामा अझै धान रोपाइँ हुनसकेको छैन । आकाशको पानीको भरमा रोपाइँ गर्नुपर्ने खेतमा यस वर्ष पर्याप्त वर्षा नभएपछि धेरै जग्गामा अझै रोपाइँ हुन नसकेको हो । सिँचाइको भरपर्दो सुविधा पाउन नसकेका धेरै किसान आकाशको पानीको भरमा धान रोपाइँ गर्ने गर्छन् । यहाँ मंगलबार विहान देखि मात्र पानी पर्न सुरु भएको हो । आज किसानका लागि विशेष दिन हो । किसानहरू आज दहिच्युरा खाएर विशेष रुपमा मनाउँछन् ।

प्रदेशमा धान खेती गरिने क्षेत्रफलको जग्गामध्ये ४० प्रतिशतमा मात्रै रोपाइँ सकिएको कृषि निर्देशनालय दिपायलले जनाएको छ । सबैभन्दा बढी धान उत्पादन हुने कैलाली जिल्लामा आजसम्म ३० प्रतिशत जग्गामा मात्र रोपाइँ हुनसकेको छ । यस्तै कञ्चनपुरमा ४५ प्रतिशत जग्गामा रोपाइँ भएको छ । ‘यसपालि कैलाली र कञ्चनपुरमा रोपाइँ गर्न ढिला भैसक्यो’, निर्देशनालयका निर्देशक यज्ञराज जोशीले भने । ‘सिँचाइको भरपर्दो व्यवस्थाका लागि ठूलो सिँचाइ आयोजना ल्याउन जरुरी भइसकेको छ ।’  

मनसुनी वर्षा सुरु भएपछि रोपाइँ गर्दा धानको उत्पादन र उत्पादकत्व वृद्धि हुने कृषि प्राविधिक बताउँछन् । तर प्रदेशमा ठूलो मनसुनी वर्षा हुन सकिरहेको छैन । यस वर्ष मनसुन जेठ २२ गते पूर्वी नेपाल प्रवेश गरेको बताइए पनि सुदूरपश्चिममा ढिलो गरी बर्षा सर्किए भएको हो । गएको एक महिनायता यो प्रदेशमा अन्य प्रदेशहरूको तुलनामा निकै कम वर्षा भएको अनुमान छ ।  भूमिगत र सतह सिँचाइको पानीको सहायतामा रोपाइँ गरिएको खेतको बाली सप्रिन आकाशको पानी आवश्यक पर्ने किसानको अनुभव छ । 

एक लाख ८१ हजार ६०४ हेक्टर क्षेत्रफलको जग्गामा धान रोपाइँ हुने सुदूरपश्चिम प्रदेशको कैलाली जिल्लामा ७१ हजार ७०० हेक्टर र कञ्चनपुरमा ४७ हजार ५०० हेक्टर जग्गामा धान रोपाइँ हुने गरेको छ । पहाडी क्षेत्रका बाँकी सात जिल्लामा ६२ हजार ४०४ हेक्टरमा रोपाइँ हुन्छ । 

अधिकांश जग्गामा आकाशको पानीको भरमा रोपाइँ गर्ने गरिन्छ । प्रदेशमा ७३ हजार ६१७ हेक्टर जग्गामा वर्षभरि सिँचाइ हुने गरेकामा ३६ हजार ४८३ हेक्टर जग्गामा आंशिक सिँचाइको सुविधा रहेको तथ्याङ्क क्षेत्रीय कृषि विकास निर्देशनालयसँग छ । धान बढी उत्पादन हुने कैलाली र कञ्चनपुरबाट पहाडी जिल्लामा धान आपूर्ति हुन्छ । यो प्रदेशमा धान खेती गरिने जग्गामध्ये ५१ प्रतिशत खेतमा सिँचाइ सुविधा भए पनि बाँकी जग्गामा यसको पर्याप्त सुविधा छैन । रासायनिक मल डिएपीको अभावले समस्या झेलिरहेका किसानलाई वर्षा हुन नसक्दा समयमै रोपाइँ गर्न नसकिने अर्को समस्या थपिएको छ ।

रोपाइँ गरेकै दिन प्रयोग गर्नुपर्ने रासायनिक मलको अभाव हुँदा यसपालि सीमापारि भारतीय क्षेत्रबाट लुकिछिपी रूपमा कम गुणस्तरको रासायनिक मल भित्र्याएर रोपाइँ गर्नुपर्ने वाध्यता किसानको छ ।  पहाडी क्षेत्रका जिल्लामा जेठ १५ देखि असार १५ सम्म र तराईका जिल्लामा असार १ देखि १५ गतेसम्मको समयलाई रोपाइँका लागि उपयुक्त समय मानिन्छ । ढिलो गरी रोपाइँ गरिएको खेतको बालीमा रोग किराको समस्या देखा पर्न सक्ने कृषि प्राविधिकको भनाइ छ । 





  • प्रकाशित मिति : असार १५, २०७९ बुधबार १०:५९:२६

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई farakdhar@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया