युवाको समुचित व्यवस्थापनका लागि प्रदेश सरकार अग्रसर छ : मुख्यमन्त्री राउत

मधेस प्रदेशका मुख्यमन्त्री लालबाबु राउतले प्रदेशका युवाको समुचित व्यवस्थापनका लागि सरकार अग्रसर रहेको बताएका छन् । 

महिला, बालबालिका युवा तथा खेलकुद मन्त्रालयले जनकपुरधाममा आयोजना गरेको प्रथम मधेस प्रदेश युवा महोत्सवको उद्घाटन गर्दै मुख्यमन्त्री राउतले प्रदेशको विकासको मूल आधार रहेको युवाहरुको समुचित व्यवस्थापनका लागि प्रदेश सरकार अग्रसर भएको उल्लेख गरेका हुन् ।  

देशमा उचित रोजगारीको व्यवस्थापन हुन नसक्दा युवाहरु खाडी मुलुकमा जान बाध्य रहेको बताउँदै उनले प्रदेशमै रोजगारी सिर्जनाको लागी पहल भइरहेको बताए । उनले मधेस सरकार प्रदेश प्रहरीमा भर्ना गर्न अगाडि बढे पनि संघ सरकारको कृदृष्टिका कारण हालसम्म सफल हुन नसकेको गुनासोसमेत सुनाए । उनले प्रहरी, प्रदेश निजामति लगायतका सेवामा छिट्टै भर्ना हुने विश्वास समेत व्यक्त गरेका छन् । 

सरकारी रोजगारीले मात्र बेरोजगारीको समस्या समाधान हुने अवस्था नरहेकोले प्रदेश सरकार उद्योग धन्दाका साथै स्वरोजगारका कार्यक्रमहरुलाई समेत प्राथमिकतामा राखेर अघि बढेको मुख्यमन्त्री राउतले बताए । 

युवाको सकारात्मक कदमले मात्र मधेस वा देशको विकास सम्भव रहेको उनको भनाइ थियो । महिला, बालबालिका युवा तथा खेलकुद मन्त्री वीरेन्द्रप्रसाद सिंहको अध्यक्षतामा भएको सम्मेलनको उद्घाटन सत्रमा गृह तथा सञ्चारमन्त्री भरत प्रसाद साह, प्रदेशसभा सदस्य मञ्जु यादव, जनकपुरधाम उद्योग वाणिज्य संघका अध्यक्ष जितेन्द्र महासेठ, युवा अभियन्ता विकास ठाकुर सहितका वक्ताहरूले शुभकामना मन्तव्य व्यक्त गरेका थिए ।





  • प्रकाशित मिति : असार १५, २०७९ बुधबार १७:२९:५२

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई farakdhar@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया