मकवानपुरको राक्सिराङ गाउँपालिकामा खोलाले बगाउँदा एकजनाको मृत्यु भएको छ । अर्को एकजना बेपत्ता भएका छन् ।
राक्सिराङ ४ स्थित मनहरी खोलाको गोराङ्दी दोभानमा खोल तर्ने क्रममा साँझ ५ बजेतिर खोलाले बगाएको राक्सिराङ गाउँपालिका अध्यक्ष राजकुमार मल्लले बताए । कैलाश कालिकाटरबाट आउने खोला र राक्सिराङ खैराङबाट आउने खोलाको संगम गोराङ्दी दोभानमा घटना भएको हो ।
उनीहरूलाई खोलाले बगाएको स्थानीयले देखेको तत्काल खोजी गर्दा कैलाश गाउँपालिका ७ का सुनबहादुर प्रजाको शव भेटिएको थियो ।
गाउँपालिका अध्यक्ष मल्लका अनुसार अर्को एकजना अझै बेपत्ता छन् । बेपत्ता हुने को थिए भन्ने खुल्न सकेको छैन । लगातार झरी पर्दा यस क्षेत्रको बाटो जोखिमपूर्ण भएको मल्लले बताए ।
खोलाको बाटोको तुलनामा पाखोको बाटो सुरक्षित हुँदाहुँदै पनि खोलैखोला हिँड्दा दुर्घटना भएको उनले बताए ।
फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई farakdhar@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।