सधैँ कक्षाकोठामा रहने भक्तपुरको एउटा स्कुलका विद्यार्थी बुधबार धान रोपाइँमा रमाएका छन् । भक्तपुर नगरपालिका वडा नं २ मिवाछें व्यासीस्थित एभरेस्ट इंग्लिस स्कुलका विद्यार्थी रोपाइँमा रमाएका हुन् ।
असार १५ को अवसरमा स्कुलले प्रत्येक वर्ष जस्तै रोपाइँ कार्यक्रम गरेको थियो । स्कुलनजिकैको खेतमा विद्यार्थीलाई रोपाइँका लागि लगिएको थियो । रोपाइँमा विद्यार्थी मात्रै नभई शिक्षक शिक्षिका पनि रमाइलो मानी काममा मस्त देखिए । सधैँ कक्षा कोठामा व्यस्त देखिने स्कुलका शिक्षकशिक्षिका प्रिन्सिपलसहित रोपाइँमा रमाए ।
स्कुलले कक्षा चारमा अध्ययरत एक सय १५ जना ससाना नानीहरुलाई रोपाइँका लागि नजिकैको खेतमा लगेको थियो । ससाना विद्यार्थीले खेतमा पुगेर रोपाइँ गरेका थिए । यसअघि उनीहरुले त्यहाँ रोपाइँका लागि बाउसे गरेको प्रत्यक्ष अवलोकन गरेका थिए ।
शिक्षकशिक्षिकाले उनीहरुलाई कामका साथै कामका लागि प्रयोग हुने औजारका बारेमा जानकारी गराएका थिए । यसअघि उनीहरुलाई मंगलबार नै कक्षाकोठामा यसबारे जानकारी दिनुका साथै प्रशिक्षण दिइएको थियो ।
रोपाइँका साथै ससाना नानीहरुदेखि कक्षा ४ सम्मका विद्यार्थीलाई राष्ट्रिय धान दिवस असार १५ पर्वकाबारे जानकारी दिँदै दही चिउरा खुवाइएको थियो ।
फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई news@farakdhar.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, टिकटक, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।