उद्धार र राहतमा लाग्न खेलकुद महासंघका अध्यक्ष बस्नेतको आह्वान

नेकपा एमाले सम्बद्ध नेपाल खेलकुद महासंघका केन्द्रीय अध्यक्ष कृष्ण बस्नेत (पर्शुराम)ले देशका विभिन्न ठाउँमा अविरल वर्षाका कारण आएको बाढीका कारण प्रभावित क्षेत्रमा उद्धारमा खटिन नेपाल खेलकुद महासंघका मातहतका नेता तथा कार्यकर्ता र संघहरुलाई आह्वान गरेका छन् ।

केही दिन यताको अविरल वर्षाका कारण तराईका जिल्लाहरु डुबानमा परेको र पहाडी जिल्लाहरुमा भूस्खलनका कारण ठूलो क्षति हुनसक्ने पूर्वानुमान गरिएकाले तत्काल आवश्यकत स्थानमा उद्धारमा खट्न उनले खेलकुद महासंघका नेता तथा कार्यकर्ताहरुलाई अपिल गरेका हुन् । 

अध्यक्ष बस्नेतले उद्धारको आवश्यकता भएका स्थानमा स्वयंसेवाका रुपमा लाग्नु महासंघका नेता तथा कार्यकर्ताको भावना नै भएको भन्दै आगामि दिनमा कम क्षति होओस् भन्नका लागि खटिन अनुरोध गरेका छन् ।

उनी स्वयं गृहजिल्ला मोरङका विभिन्न बाढी प्रभावित क्षेत्रमा पुगेर उद्धारमा जुटेका छन् ।

‘प्राकृति विपत्तिहरुलाई कसैले पनि रोक्न सक्दैन, तर समयमा नै ध्यान दिने हो भने यसबाट हुनसक्ने क्षतिलाई न्युनिकरण गर्न सकिन्छ,’ बस्नेतले भनेका छन्, ‘नेपाल खेलकुद महासंघले कोरोना महामारीको समयमा होस् या गत वर्ष बाढी पहिरोपछिको उद्धारमा किन नहोस्, आफ्नो भूमिका निर्वाह गरेको छ ।’ उनले महासंघले यो इतिहासलाई कायम राख्नु पर्ने पनि बताएका छन् । ‘हामी महासंघमा आवद्ध भएका सबै सदस्यहरु तथा महासंघ मातहतका सबै संघहरु जुटेको खण्डमा विपत्तिबाट हुने क्षति कम गर्न सकिन्छ,’ उनले भनेका छन्, ‘मानवीय भावना लिएर म सबै सदस्य कमरेडहरुलाई फिल्डमा उत्रिन अनुरोध गर्छु ।’

बस्नेतले सरकार तथा राज्यका निकायहरुले पनि समयमा नै ध्यान दिएर प्राकृतिक विपत्तिको क्षति कम गर्न समयमा नै कदम चाल्नु पर्ने पनि बताएका छन् ।



केही दिन यता परेको अविरल वर्षाका कारण मोरङ, झापा, सुनसरी, जनकपुरलगायतका जिल्लाहरुमा धेरै क्षेत्रहरु डुबानमा परेका छन् ।



  • प्रकाशित मिति : असार १५, २०७९ बुधबार २२:४२:३५

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई farakdhar@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया