लुम्बिनीमा ३३ प्रतिशत मात्र रोपाइँ

असार १५ सकिँदासम्म लुम्बिनीमा जम्मा ३२.७१ प्रतिशत क्षेत्रमा मात्र धान रोपाइँ भएको छ । यो गत वर्षको भन्दा १३ प्रतिशत कम हो । गत वर्ष असार १५ सम्म ४६ प्रतिशत खेतमा रोपाइँ भएको थियो ।

लुम्बिनीमा धान रोपाइँ हुने तीन लाख २० हजार २७५ हेक्टर क्षेत्रफलमध्ये हालसम्म एक लाख चार हजार ७५१ हेक्टरमा रोपाइँ सकिएको कृषि, खाद्य प्रविधि तथा भूमि व्यवस्था मन्त्रालयले जानकारी दिएको छ । 

मन्त्रालयका बालिका विकास अधिकृत तथा सूचना अधिकारी शालिकराम गौतमका अनुसार अहिलेसम्म सबैभन्दा धेरै नवलपरासीमा ८० प्रतिशत र सबैभन्दा कम बाँकेमा १३ प्रतिशत धान रोपाइँ भएको छ ।

नवलपरासीमा धान रोपाइँ हुने २१ हजार १७५ हेक्टर क्षेत्रफलमध्ये १६ हजार ९४० हेक्टरमा धान रोपाइँ सकिएको छ भने बाँकेमा रोपाइँ हुने ३६ हजार ५०० हेक्टर मध्ये चार हजार ७४५ हेक्टर क्षेत्रफलमा रोपाइँ सकिएको छ । लुम्बिनी प्रदेशमा सबैभन्दा बढी धान खेती हुने कपिलबस्तुमा १७ प्रतिशत धान रोपाइँ हुँदा प्रदेशको दोस्रो धेरै धान खेती हुने जिल्ला रुपन्देहीमा ४१ प्रतिशत रोपाइँ सकिएको छ । कपिलबस्तुमा धान खेती हुने कुल ७१ हजार २०० हेक्टर मध्ये अहिलेसम्म १२ हजार १०४ हेक्टर क्षेत्रफलमा रोपाइँ सकिएको मन्त्रालयका बाली विकास अधिकृत गौतमले बताए ।

लुम्बिनी मा सबै भन्दा कम धान रोपाइँ हुने रुकुम पूर्वमा ६५ प्रतिशत रोपाई सम्पन्न हुँदा रोल्पामा ६० प्रतिशत रोपाई सकिएको छ । रुकुम पूर्वमा धान रोपाई हुने एक हजार ४१९ हेक्टर मध्ये ९२३ हेक्टर क्षेत्रफलमा रोपाई सकिँदा रोल्पामा चार हजार ३४० हेक्टर मध्ये दुई हजार ६१३ हेक्टर क्षेत्रफलमा रोपाइँ सकिएको छ ।

धान उत्पादन हुने मुख्य जिल्ला दाङमा ३२ प्रतिशत र बर्दियामा ३५ प्रतिशत रोपाइँ सकिएको छ । दाङ जिल्लामा कुल धान रोपाई हुने ३९ हजार ४०० हेक्टर क्षेत्रफल मध्ये १२ हजार ४११ हेक्टर क्षेत्रफलमा धान रोपाइँ भइसकेको छ भने बर्दियामा ५० हजार २५० हेक्टर क्षेत्रफलमध्ये १७ हजार ४७७ हेक्टरमा रोपाइँ सकिएको छ । अर्घाखाँचीमा अहिलेसम्म २४ प्रतिशत धान रोपाइँ भएको छ । जिल्लामा धान खेती हुने कुल आठ हजार ५० हेक्टर मध्ये एक हजार ९३२ हेक्टर क्षेत्रफलमा रोपाइँ सम्पन्न भइसकेको मन्त्रालयका बाली विकास अधिकृत गौतमले जानकारी दिए ।



गुल्मीमा २७ प्रतिशत रोपाइँ हुँदा पाल्पामा भने ३५ प्रतिशत रोपाइँ सकिएको छ । गुल्मीमा कुल धान खेती हुने आठ हजार ८३६ हेक्टरमध्ये दुई हजार ३८६ हेक्टर क्षेत्रफलमा रोपाइँ सकिएको छ भने पाल्पामा सात हजार ७०६ हेक्टर मध्ये दुई हजार ६९७ हेक्टर क्षेत्रफलमा रोपाइँ सकिसकेको छ । प्यूठान ६० प्रतिशत रोपाइँ सकिएको छ । जिल्लाको कुल धान रोपाइँ हुने ६ हजार ५८० हेक्टर मध्ये तीन हजार ९४८ हेक्टर क्षेत्रफलमा रोपाइँ सकिएको छ । 



  • प्रकाशित मिति : असार १६, २०७९ बिहीबार ७:१९:५८

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई farakdhar@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया