छबिसपाथिभेराको नीति तथा कार्यक्रम : एम्बुलेन्स खरिददेखि एक वडा एक उद्योग स्थापना [पूर्णपाठ]

बझाङको छबिसपाथिभेरा गाउँपालिकाले आगामी आर्थिक वर्षमा एम्बुलेन्स खरिद गर्ने भएको छ । एम्बुलेन्स नहुँदा पालिकावासीले वर्षौंदेखि समस्या भोग्दै आएका छन् । सर्वसाधारणको समस्या समाधानका लागि आगामी आर्थिक वर्षमा एम्बुलेन्स खरिद गरेर सञ्चालनमा ल्याउने पालिकाको आगामी आर्थिक वर्ष ०७९/८० को नीति तथा कार्यक्रममा उल्लेख गरिएको छ ।

‘प्रत्येक व्यक्तिलाई आधारभूत स्वास्थ्य सेवाको पहुँचबाट बञ्चित गरिने छैन । साथै गर्भवतीलाई गाउँपालिकाभित्रका स्वास्थ्य चौकीमा पुर्याउन एम्बुलेन्स प्रदान गरिनेछ । गाउँपालिकाभरका नागरिकलाई सहज, सरल र शीघ्र स्वास्थ्यको पहुँचमा पुर्याउन यही आर्थिक वर्षमा एम्बुलेन्स खरिद गरी सुचारु गरिनेछ,’ पालिकाको नीति तथा कार्यक्रममा भनिएको छ, ‘नागरिकको स्वास्थ्य सुरक्षा योजना तयार गरी विशेषज्ञ चिकित्सक सेवासहितको स्वास्थ्य शिविर सञ्चालन गरिनेछ । नसर्ने रोगका कारण हुने बढ्दो मृत्यु दरलाई कम गर्न हरेक स्वास्थ्य संस्थामा आधारभूत ल्याब सेवालाई थप प्रभावकारी बनाइ नियमित स्वास्थ्य परीक्षणलाई प्रोत्साहन गरिनेछ ।’

त्यस्तै, ‘ग्रामिण अल्ट्रा साउन्ड कार्यक्रम’ पनि सुरु गरिने पालिकाले जनाएको छ ।  लामो समयदेखि औषधि सेवन गरिरहेका बिरामीलाई निःशुल्क औषधि वितरण गरिने पनि नीति तथा कार्यक्रममा उल्लेख गरिएको छ ।

पालिकाको सातवटै वडामा सामाजिक सुरक्षा भत्तालाई व्यवस्थित गराउन भत्ता पाउने सबैको बैंक खाता खोलिने पनि उल्लेख छ । पालिकाले आगामी आर्थिक वर्षमा प्रत्येक वडामा एकवटा बहुउद्देश्यीय नर्सरी स्थापना, एक गाउँ एक नमूना फार्म, एक गाउँ एक नमूना उत्पादन, कृषिसँग एकल महिला कार्यक्रम, माटो परीक्षण र कम्पोस्ट मल उत्पादनका लागि विशेष कार्यक्रम, एक घर पाँचवटा फलफूल बोटहरू अभियान, रैथाने बालीको उत्पादन र प्रवर्द्धनलाई जोड दिनुका साथै खेतीयोग्य खाली जमिनको उपयोग गर्ने कार्यक्रम सञ्चालन गरिने नीति तथा कार्यक्रममा उल्लेख गरिएको छ । साथै, कृषिजन्य उपजको बजारीकरण र ढुवानीका लागि अनुदानको पनि व्यवस्था गरिने पालिकाले जनाएको छ ।

त्यस्तै, एक वडा एक पर्यटकीय स्थलको पहिचान, एक वडा एक उद्योगको स्थापना, उत्कृष्ट युवा उद्योगीलाई आवश्यक सहयोग, घरेलु उत्पादनलाई प्रोत्साहन गरी रोजगारी प्रदानका साथै नमूना विद्यालय कार्यक्रमको सुरुवात, सामुदायिक विद्यालयमा स्वयंसेवक शिक्षकको व्यवस्था गरिने गाउँपालिका उपाध्यक्ष लछिमन बोहराले प्रस्तुत गरेको नीति तथा कार्यक्रममा भनिएको छ ।

त्यस्तै, पालिकास्तरीय अध्यक्ष कपलाई निरन्तरता दिने, गाउँपालिकामा बहुउपयोगी खेल मैदान निर्माणका लागि पहल साथै सामाजिक विकासका लागि युवालाई परिचालन गरिने पनि नीति तथा कार्यक्रममा उल्लेख गरिएको छ ।  



छबिसपाथिभेराको आगामी आर्थिक वर्षको नीति तथा कार्यक्रम, हेर्नुस् पूर्णपाठ



  • प्रकाशित मिति : असार १६, २०७९ बिहीबार ११:२:५९

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई farakdhar@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया