कसरी लाग्छ हैजा? यी हुन् लक्षण र रोकथामका उपाय

हरेक वर्षायाममा नेपालका विभिन्न भागमा हैजाका बिरामीहरू भेटिने गरेका छन् । यसवर्ष काठमाडाैंमै संक्रमितहरू भेटिएका छन् । उपत्यकाका १० ठाउँमा हैजा भेटिएको छ ।

डिल्लीबजार, सानेपा, बालाजु, कपन, कोटेश्वरलगायतका स्थानमा हैजा पुष्टि भएको छ । विशेष सावधानी नअपनाए स्थिति भयावह हुनसक्ने चेतावनीसमेत विज्ञहरूले दिएका छन् । 

हैजा के हो, कसरी लाग्छ? 

यो गम्भीर प्रकृतिको झाडापखाला हो । यो भिब्रियो कलेरा नामक जीवाणुका कारण लाग्छ । हैजा लागेमा निरन्तर पातलो चौलानीजस्तो दिसा लाग्छ । जसकारण शरीरमा सोडियम, क्लोराइड (इलेक्ट्रोलाइट्स) जस्ता तत्वहरूको अभाव हुन्छ । समयमै  उपचार नभएमा बिरामीको ज्यानै पनि जान सक्छ । 

यसमा पेट दुख्ने र ज्वरो आउने जस्ता लक्षणहरू देखिँदैन । हैजा लागेका प्रत्येक १० व्यक्तिमध्ये एक जनामा गम्भीर प्रकृतिको लक्ष्यण देखिने गर्दछ । लक्षणबिनै संक्रमण भएको व्यक्तिमा दिसामार्फत निरन्तर जीवाणु बाहिर निस्किन्छ । 

लक्षणहरू



संक्रमण भएको केही घण्टादेखि पाँच दिन भित्र यसका लक्षणहरू देखिन्छन् । हैजा लागेका व्यक्तिमा यस्ता लक्षणहरू देखिन्छन् :

– निरन्तर अधिक पातलो दिसा लाग्नु
– पटकपटक वान्ता आउनु
– पेट वा खुट्टाको मांसपेशी बाउँडिनु 
– आँखा गढ्नु, छाला चाउरी पर्नु 
– धेरै तिर्खा र थकान लाग्नु 
– धेरै कमजोरीका कारण बेहोस हुनु 



रोकथामका उपाय 

– सरसफाइमा ध्यान दिने
– संक्रमित व्यक्तिको सम्पर्कमा आउँदा सावधानी    अपनाउने 
– फोहोरमैलाको व्यवस्थापनमा ध्यान दिने
– खाना खानु अघि र शौचालयको प्रयोग गरेपछि साबुन पानीले हात धुने
– सकेसम्म उमालेको पानी पिउने  
– फलफुल तथा तरकारीको प्रयोग गर्नु अघि सफा पानीले पखाल्ने 
– पानीको मुहान सफा राख्ने 
– शौचालयमा मात्र दिसापिसाब गर्ने 

उपचार 

– पुनर्जलीय झोलको सेवन गर्ने 
– चिकित्सकको परामर्श लिने 

हैजा फैलिएको स्थानमा जो कोहीमा संक्रमणको जोखिम उच्च हुन्छ । यस्तो अवस्थामा समुदायस्तरमै हैजाविरुद्धको खोप दिएर स्थितिलाई नियन्त्रण गर्न सकिन्छ । 

  • प्रकाशित मिति : असार १६, २०७९ बिहीबार १२:५:४१

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई farakdhar@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया