संसद् र प्रदेशसभाको निर्वाचन गराउन सरकार प्रतिबद्ध छ : प्रधानमन्त्री

प्रधानमन्त्री शेरबहादुर देउवाले संघीय संसद् र प्रदेशसभाको निर्वाचन गराउन सरकार प्रतिबद्ध रहेको बताएका छन् । संघीय संसद् सचिवालय र पूर्व सांसद मञ्च नेपालले ६४औँ संसद् दिवसका अवसरमा आज आयोजना गरेको कार्यक्रममा उनले सो कुरा बताएका हुन् । 

स्थानीय तहको निर्वाचन गत वैशाख ३० गते सफलतापूर्वक सम्पन्न भएको र आगामी निर्वाचन स्वच्छ र भयरहित वातावरणमा सम्पन्न गर्न सरकार प्रतिबद्ध रहेको उनले बताए । ‘संविधानसभाबाट संविधान जारी गरेपछि मुलुक संघीय लोकतान्त्रिक व्यवस्थाबाट अघि बढिरहेको छ । स्थानीय तहको निर्वाचन भयरहित, स्वच्छ वातावरणमा सम्पन्न भएको छ, प्रतिनिधिसभा र प्रदेशसभाको निर्वाचन सम्पन्न गर्न सरकार प्रतिबद्ध छ ।’

दिगो शान्ति र सुशासन कायम गर्नेतर्फ मुलुक अगाडि बढिरहेको बताउँदै उनले देशलाई विकसित बनाउन सबैले मिलेर काम गर्नुपर्नेमा जोड दिए । प्रधानमन्त्री देउवाले पूर्वसांसद मञ्चले दलीय राजनीति भन्दामाथि उठेर काम गरिरहेको र सरकारलाई समयसमयमा महत्वपूर्ण सल्लाह दिने गरेकोप्रति कृतज्ञता व्यक्त गरे । जनताबाट निर्वाचित जनप्रतिनिधि रहेको संसद्ले संसदीय लोकतान्त्रिक मूल्यमान्यतालाई व्यवस्थित गर्न महत्वपूर्ण भूमिका खेलेको उनले बताए ।

पूर्वप्रधानमन्त्री झलनाथ खनालले संसद् राष्ट्रको आवाज बोल्ने र देशलाई ठीक ढंगले अगुवाइ गर्ने थलोका रुपमा विकास भइरहेको बताए । उनले सरकार र दलहरूले राम्रोसँग भूमिका निर्वाह गर्न नसकेकाले जनताले निर्दलीय व्यक्तिलाई मत दिएर जिताउने गरेको र देशलाई ठीक ढंगले अगुवाइ गर्न नसक्दा फरक परिणाम आउने अवस्था सिर्जना भएको तर्क गरे ।

कानुन, न्याय तथा संसदीय मामिलामन्त्री गोविन्दप्रसाद शर्मा कोइरालाले संसद् सोचेअनुरुप क्रियाशील हुन नसक्दा ०७५ सालदेखि ५३ वटा विधेयक र आठवटा अध्यादेश संसद्मा रहेको बताए । उनले नागरिकताजस्तो राष्ट्रिय महत्वको विषयलाई सहमतिबाटै टुंग्याउनुपर्नेमा जोड दिए ।  
    
पूर्वसभामुख रामचन्द्र पौडेलले जनताको आवाजलाई मुखरित गर्ने र निरंकुशताको विरुद्ध लड्ने संसद् सधैँ क्रियाशील हुनुपर्ने बताए । संविधानसभाका अध्यक्ष सुवासचन्द्र नेम्वाङले पूर्वसांसद मञ्चले संसद्ले गरेका वार्षिक कामको अध्ययन गरेर थप क्रियाशील बनाउनुपर्ने सुझावसमेत दिए । 

मञ्चका अध्यक्ष ओमकारप्रसाद श्रेष्ठले ०१६ साल असार १६ गते तत्कालीन राजा महेन्द्र शाहले निर्वाचित संसद्को पहिलो बैठक बसेको र त्यही दिवसका अवसरमा प्रत्येक वर्ष यो दिवस मनाउन लागेको जानकारी दिए ।  





  • प्रकाशित मिति : असार १६, २०७९ बिहीबार १७:५८:३३

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई farakdhar@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया