मधेस प्रदेश मन्त्रिपरिषद् बैठक : लोककल्याणकारी विज्ञापन र पत्रकार बिमा कार्यविधि स्वीकृत

मधेस प्रदेश सरकारले प्रदेश लोककल्याणकारी विज्ञापन व्यवस्थापन कार्यविधि–२०७९ र पत्रकार स्वास्थ्य तथा दुर्घटना बिमा कार्यविधि–२०७९ स्वीकृत गरेको छ । बिहीबार बसेको मन्त्रिपरिषद् बैठकले प्रस्तावित दुवै मस्यौदा स्वीकृत गरेको हो । 

आमसञ्चार प्राधिकरण जनकपुरधामद्वारा प्रस्तावित दुवै मस्यौदा गृह तथा सञ्चार मन्त्रालयबाट मन्त्रीस्तरीय निर्णय भई अर्थ मन्त्रालय र कानुन, न्याय तथा प्रदेश सभा मामिला मन्त्रालय समेतबाट स्वीकृति प्राप्त गरी पुनः मन्त्रीस्तरीय निर्णय भई स्वीकृतिका लागि असार ८ गते मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा दर्ता गरिएको थियो । 

लोककल्याणकारी विज्ञापन व्यवस्थापन कार्यविधि स्वीकृत भएपछि मधेस प्रदेशमा सञ्चालित मापदण्ड पुगेका पत्रपत्रिका, एफएम रेडियो, टेलिभिजन र अनलाइन सञ्चारमाध्यमले प्रदेश सरकारको लोकहितका विज्ञापन एवं सूचना प्राप्त गर्नेछन् । 

त्यस्ता विज्ञापन एवं सूचना सञ्चारमाध्यमले प्रकाशन–प्रसारण गरेबापत आमसञ्चार प्राधिकरणबाट कार्यविधिमा तोकिएबमोजिम भुक्तानी उपलब्ध गराइने आमसञ्चार प्राधिकरणका अध्यक्ष श्यामसुन्दर यादवले जानकारी दिएका छन् । 

लोककल्याणकारी विज्ञापन उपलब्ध गराउने कार्य आवश्यक प्रक्रिया पुर्याएर अविलम्ब सञ्चालन गरिने उनले बताए । 

यसैगरी पत्रकार स्वास्थ्य र दुर्घटना बिमा कार्यविधिअनुसार मधेस प्रदेशका जुनसुकै जिल्लालाई कार्यक्षेत्र बनाएर निरन्तर पत्रकारिता गर्दै आएका पत्रकारलाई बिमा कार्यक्रमको लाभ लिने बाटो खुलेको छ ।



बिमा कार्यक्रममा सहभागी पत्रकारले वर्षमा एकपटक एक लाख रुपैयाँसम्मको औषधि उपचार खर्च पाउनेछन् भने सात लाख रुपैयाँसम्मको दुर्घटना बिमा गरिनेछ । 

उक्त कार्यक्रम समेत यसै आर्थिक वर्षदेखि लागू गर्ने तयारी थालिएको अध्यक्ष यादवले बताए ।



  • प्रकाशित मिति : असार १६, २०७९ बिहीबार २२:४:३३

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई farakdhar@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया