न्युयोर्क राज्यको संसदको तल्लो सदनका १०३ नम्बर एसेम्ब्ली डिस्ट्रिक्टको डेमोक्रेटिक प्राइमरी चुनावमा नेपाली मूलकी उम्मेदवार सराहना श्रेष्ठले विजय हासिल गरेकी छिन् ।
२३ वर्षदेखि लगातार र सन् १९९३ मा एक कार्यकाल गरी १३ कार्यकाल न्युयोर्क संसदको तल्लो सदनमा प्रतिनिधित्व गर्दै आएका ६६ वर्षका डेमोक्रेटिक उम्मेदवार केभिन काहिललाई श्रेष्ठले पराजित गरेकी हुन् ।
४० वर्षभन्दा लामो समयदेखि राजनीतिमा सक्रिय रहँदै आएका काहिललाई ३ वर्ष अगाडि अमेरिकी नागरिकता लिएकी ४१ वर्षकी सराहना श्रेष्ठले पराजित गरेकी हुन् । सन् २००१ मा अध्ययनका लागि न्युयोर्क आएकी श्रेष्ठले सन् २०१९ मा मात्र अमेरिकन नागरिकता प्राप्त गरेकी थिइन् ।
श्रेष्ठले ७ हजार ७ सय २ भोट ल्याएकी छिन् भने काहिलले ७ हजार १ सय ७३ भोट ल्याएका थिए । अनुपस्थित र सहमति दिइएका मतपत्रहरू गणना नगरिँदै श्रेष्ठको जीत घोषणा गरिएको हो ।
अब नोभेम्बरमा हुने चुनावमा सन् १९९९ पछि पहिलोपटक काहिलको नाम मतपत्रबाट हट्ने भएको छ भने उक्त स्थानमा श्रेष्ठको नाम हुनेछ ।
डेमोक्र्याट्सको बाहुल्यता रहेको उक्त डिस्ट्रिक्टमा नोभेम्बरमा श्रेष्ठको जित लगभग सुनिश्चित रहेको छ । श्रेष्ठ न्युयोर्क राज्यको संसदमा उम्मेदवारी दिने र प्राइमरी चुनाव जित्ने नेपाली मूलकी पहिलो अमेरिकन हुन् । उनी नोभेम्बरको निर्वाचनपछि अमेरिकाको राजनीतिमा सबैभन्दा उच्च तहमा पुग्ने नेपाली मूलकी पहिलो महिला हुने छिन् ।
जलवायु संकट र आर्थिक तथा सामाजिक न्यायका विषयमा आवाज उठाउँदै आएकी उनले न्युयोर्क अल्स्टर र डचेज काउन्टीको प्रतिनिधित्व गर्नेछिन् ।
श्रेष्ठले गत वर्ष नै चुनावी अभियान सुरु गरेकी थिइन् । श्रेष्ठले न्युयोर्क हेल्थ एक्ट, गुड कज इभिक्सन र ग्रिन न्यु डिलजस्ता बामपन्थी एजेण्डाको समर्थन गरेकी छिन् । डेमोक्रेटिक सोसलिष्टको हडसन भ्याली च्याप्टर र फर द मेनी नामको समुहले श्रेष्ठको उम्मेदबारीको समर्थन गरेका थिए ।
उनको उम्मेदवारीको चर्चित अमेरिकन सांसद अलेक्जान्ड्रिया ओकासिओ कोर्टेजले पनि समर्थन गरेकी थिइन् । त्यस्तै अमेरिकन चर्चित कलाकार र अधिकारकर्मी सिन्थिया निक्सनले पनि उनको उम्मेदवारीको समर्थन गरेकी थिइन् ।
श्रेष्ठ अमेरिकामा डेमोक्रेटिक सोसलिष्टकी सदस्यसमेत हुन् भने उनी डेमोक्रेटिक सोसलिष्टको मिड हड्सन भ्याली च्याप्टरका लागि अल्स्टर काउन्टी सह अध्यक्ष समेत हुन् । त्यस्तै उनी स्वच्छ, नवीकरणीय, किफायती र पहुचयोग्य विद्युत आपूर्तिको प्रवद्र्धनका क्षेत्रमा काम गर्ने गठबन्धन पब्लिक पावर न्युयोर्ककी नेतासमेत हुन् ।
न्युयोर्क राज्यको तल्लो सदनमा हरेक सांसदले झण्डै १ लाख ३० हजार बासिन्दाको प्रतिनिधित्व गर्दै आएका छन् । न्युयोर्क राज्य संसदको तल्लो सदनमा प्रतिनिधित्व गर्ने सांसदको कार्यकाल २ वर्षको हुने गर्छ ।
पछिल्लो समयमा अमेरिकन मूलधारको राजनीतिमा नेपाली अमेरिकनको सहभागिता बढ्दै गएको छ । अहिलेसम्म जननिर्वाचित सबैभन्दा उच्च पदमा पुग्न सफल नेपाली अमेरिकन मेरिल्याण्ड राज्यका सांसद ह्यारी भण्डारी हुन् ।
फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई farakdhar@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।