भुवन केसीलाई बोर्ड अध्यक्ष बन्न उमेर र शैक्षिक योग्यता बाधक !

लामो समयसम्म राजसंस्थाको वकालत गर्दै आएका अभिनेता भुवन केसी सांसद बन्ने लोभले राजनीतिमा प्रवेश गरे । २०७० मा एमालेबाट काठमाडौं १ सांसद उठ्न खोजेका थिए । तर एमालेले विद्या न्यौपानेलाई उम्मेदवार बनायो । 

२०७४ मा ओलीसँग आफूलाई चलचित्र विकास बोर्ड अध्यक्ष बनाउन आग्रह गरे । ओलीले हेरौँला भन्ने जवाफ दिए । भुवन केसी एमालेमा माधव नेपालनिकट भएकाले पनि ओलीले उनीप्रति खासै चासो देखाएनन् । त्यसपछि बिरक्तिएका भुवन बोर्ड अध्यक्ष बन्ने सर्तमा कांग्रेस प्रवेश गरे । बालुवाटारमा प्रधानमन्त्री तथा कांग्रेस सभापति शेरबहादुर देउवाले कांग्रेसमा प्रवेश गराए । 

गत २३ जेठ दयाराम दाहाल दुई वर्षे कार्यकाल पूरा गरी हटेपछि विकास बोर्ड अध्यक्ष खाली भएपछि ५ असारमा सञ्चार तथा सूचना प्रविधि मन्त्रालयले दरखास्त आह्वान गरेको छ । २० असारभित्र दरखास्त बुझाइसक्नुपर्ने छ । तर, भुवनले शुक्रबार दरखास्त हाल्ने तयारी गरेका छन् । 

विकास बोर्डको अध्यक्ष बन्नका लागि ३० वर्ष पूरा भई ६५ वर्ष उमेर ननाघेको हुनुपर्ने मापदण्ड छ । तर, भुवन गत असोजदेखि ६५ पूरा भई ६६ वर्षमा प्रवेश गरेका छन् । विकिपिडियामा उनको जन्म मिति फरक फरक देखिन्छ, २०१३ असोज २ र २०१४ असार १६ गते उल्लेख छ । तर, उनले आफ्नो जन्मदिन असोज २ गते मनाउने गरेकाले २०१३ सालमै जन्मिएको अनुमान लगाउन सकिन्छ ।  

आफ्नो उमेर कट्ने भएपछि भुवन केसी केही दिनअघि माओवादी केन्द्र अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डलाई भेट्न खुमलटार पुगेका थिए । उनले यो आफ्नो राजनीतिक नियुक्ति हुने भएकाले सहयोग गर्न प्रचण्ड आग्रह गरे । 

सञ्चार मन्त्रालयले मागेका दरखास्त आह्वानको विज्ञापनमा शैक्षिक योग्यता प्रमाणपत्र तह वा सो सरह उत्तीर्ण भएको वा सम्बन्धित क्षेत्रमा १० वर्षभन्दा बढी अनुभव भएको हुनुपर्ने उल्लेख छ । सोहीअनुसार भुवनले केही दिनअघि रत्नराज्य क्याम्पसबाट प्रमाणपत्र तहको क्यारेक्टर सर्टिफिकेट निकालेका थिए । 



सरकारी बोर्ड वा संस्थानको कार्यकारी पदका लागि स्नातक तह उत्तीर्ण अनिवार्य मानिन्छ । तर, भुवनका लागि सञ्चार मन्त्रालयले मापदण्ड संशोधन गरेकाले यो नियुक्ति खारेज गर्न सर्वोच्च अदालतमा निवेदन दिने केही चलचित्रकर्मीले तयारी गरेका छन् । हालै नेपाल आयल निगमको सञ्चालक समिति सदस्य स्नातक तह उत्तीर्ण नभएको  व्यक्ति नियुक्त भएपछि परेको रिटमा सुनुवाइ गर्दै सर्वोच्च अदालतले उनको नियुक्ति खारेज गरेको नजिर छ । 

यिनै विविध कारणले पनि भुवनले विकास बोर्ड अध्यक्षका लागि अन्तिमतिर दरखास्त हाल्ने तयारी गरेका हुन् ।  विकास बोर्ड अध्यक्षका लागि अहिलेसम्म सम्झना उप्रेती रौनियार, अरुण प्रधान, सुशील पोखरेलले दरखास्त हालेका छन् । आजै निर्माता निर्देशक नरेश पौडेलले पनि दरखास्त दिने तयारी गरेका छन् ।  



  • प्रकाशित मिति : असार १७, २०७९ शुक्रबार १४:५७:५४

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई farakdhar@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया