नुवाकोट– माघे सङ्क्रान्तिमा गोरु जुधाउने मेला सम्पन्न भएको छ । जिल्लाको पहिचानका रुपमा विकास हुँदै गएको गोरु जुधाउने मेला यस वर्ष मूल थलो तारुकासहित पाँच स्थानमा लाग्याे । तारुका, बेत्रावती, घलेगाउँ, कट्टिछाप र शेराबगरमा गरी यो वर्ष ४५ हल गोरु जुधाइए ।
तारुकामा २२ हल गोरुबीच घम्साघम्सी भयो । मेलाको उद्घाटन गर्दै युवा तथा खेलकुदमन्त्री जगतबहादुर विश्वकर्माले तारुकाको गोरु जुधाइ देशकै पहिचानका रुपमा विकास भएकाले यसलाई व्यवस्थित र संरक्षण गर्नुपर्नेमा जोड दिए । यहाँको पहिचान स्थापित गराउनका लागि सरकारले सहयोग गर्ने पनि उनले बताए ।
प्रतिनिधिसभा सदस्य नारायणप्रसाद खतिवडाले तारुकाको गोरु जुधाउने पाटोलाई सरकारले खरिद गरेर खेलमैदानका रुपमा विकास गर्नुपर्ने बताए ।
जिल्लाका विभिन्न स्थानमा पहिले गोरु जुधाउने गरिएकामा नुवाकोटको तारुकाले व्यवस्थित रुपमा २०६२ सालबाट गाउँभरिका जुरे बहर गोरु एकै थलोमा जुधाउने चलनको सुरुवात गर्यो । यहाँको गोरु जुधाइ हेर्न हजारौँ दर्शक ओइरिएको देखेपछि जिल्लाका अन्य भागमा पनि गोरु जुधाउने परम्परालाई ब्युँतिएको छ । तारुकामा विजेता गोरुधनीले ६ हजार र हार्ने गोरुका धनीले ४ हजार पुरस्कार पाए ।
‘तारुकाको पौरख नेपालको गौरव’ भन्ने नाराका साथ सुरु भएको मेलामा हजारौँ दर्शकको भिड लागेको थियो । कच्ची मोटरबाटो र धुलोका कारण तारुका पुग्न कठिनाइ भए पनि हजारौँ दर्शकको भिडबाट नै यहाँको गोरु जुधाइको महत्व र लोकप्रियता स्पष्ट हुने वडाध्यक्ष समरबहादुर आलेमगरले बताए ।
गोरु जुधाइ पर्वले आन्तरिक पर्यटन प्रवर्द्धनमा भूमिका खेलेको भन्दै तारकेश्वर गाउँपालिकाका अध्यक्ष रमेश वस्तीले पालिकाभरिको सबैभन्दा उत्कृष्ट मेला तारुकाको गोरु जुधाइ नै भएकाले मेला आयोजनामा गाउँपालिका प्रत्यक्ष सहभागी भएको बताए ।
गोरु जुधाइमा जिल्लाकै अर्को प्रसिद्ध स्थान बेत्रावतीमा यो वर्ष आठ हल गोरु जुधाइएको छ । कार्यक्रममा विदुर नगरपालिकाको प्रमुख सञ्जु पण्डितले ऐतिहासिक क्षेत्र बेत्रावतीको गोरु जुधाइ अर्को ऐतिहासिक पर्व भएकाले यसको संरक्षण र निरन्तरतामा सबैले ध्यान दिनुपर्ने बताए ।
केही गोरु नजुधी मैदानमा आउनासाथ भागेका थिए भने केही हल गोरु ४५ मिनेटसम्म जुधिसक्दा पनि हारजित नभएपछि छुट्याउनुपरेको थियो ।
उता, पञ्चकन्या गाउँपालिकाको घलेभञ्ज्याङमा यो वर्ष आठ हल गोरु जुधाइएको छ । यहाँ पहिलो हुने गोरुधनी सुमी थापाले १५ हजार, दोस्रो हुने गोरुधनी उमेश अधिकारीले १० हजार, तेस्रो हुने गोरुधनी अर्जुन प्याकुरेलले ५ हजार नगद पुरस्कार पाए ।
यही वर्षबाट गोरु जुधाउन थलिएको लिखु गाउँपालिकाको कट्टिछापमा तीन हल गोरु र शिवपुरी गाउँपालिकाको शेरा बगरमा चार हल गोरु जुधाइए ।
फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई farakdhar@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।