देउवालाई पाँचबुँदे ध्यानाकर्षण गराउँदै कोइराला समूहले गर्‍यो विधानअनुरूप पार्टी चलाउन दबाब दिने निर्णय
शेखर कोइराला पक्षको ठहर : देउवा कांग्रेसको नभई गठबन्धनको सभापति बने

नेपाली कांग्रेस नेता डा. शेखर कोइराला पक्षीय भेलाले नेपाली कांग्रेसका सभापति एवं प्रधानमन्त्री शेरबहादुर देउवा पार्टीको नभई गठबन्धनको सभापति भएको आरोप लगाएको छ ।

शुक्रबार सकिएको कोइराला पक्षीय बैठकबारे जानकारी गराउँदै नेपाली कांग्रेस कोइराला पक्षीय नेता एवं पार्टी केन्द्रीय सदस्य डा. गोविन्द पोखरेलले सभापति देउवाले नेपाली कांग्रेसका नेता र कार्यकर्तालाई समेट्न नसकेको बताएका हुन् । पार्टी सभापति देउवा गठबन्धनकै सभापति बन्न खोजे निष्कर्ष निकाल्दै कोइराला समूहले पाँचबुँदे ध्‍यानाकर्षण गराएको हो ।

'अहिले नेपाली कांग्रेसको भन्दा पनि सभापतिजी गठबन्धनको सभापति हुनुभएको छ । उहाँले पार्टीभित्रै ४० प्रतिशत महाधिवेशन प्रतिनिधि जुन गाउँ, वडाबाट निर्वाचित भएर आउँछन्, आफू उहाँहरूको सभापति हुँ भन्ने अनुभूति दिलाउन सक्नुभएको छैन' उनले भने ।

बैठकमा सरकार सञ्चालन, गठबन्धन, पार्टीको आगामी कार्यदिशा, आगामी निर्वाचन र परराष्ट्र नीतिका बारेमा सरकारले बनाइरहेको धारणालगायत पाँच बुँदामा छलफल भएको केन्द्रीय सदस्य पोखरेलले बताए । उनले सरकारले आफूले गरेका वाचाअनुसार जनतालाई राहत दिन नसकेको, सुशासनसम्बन्धी गरेका राजनीतिक प्रतिबद्धता पूरा गर्न नसकेको पनि बताए । 

उनले राजश्व अनुसन्धान, सम्पत्ति शुद्धीकरण, राष्ट्रिय अनुसन्धान विभाग लगायत प्रधानमन्त्रीको मातहतबाट हटाउने प्रतिवद्धताको प्रधानमन्त्रीले अवज्ञा गरेको, बजेट बनाउनेदेखि चरम रूपमा आर्थिक सुशासनको खिल्ली उडाइएको पनि निस्कर्ष निकालेको छ । 

'अर्थतन्त्रका सूचकहरू राम्रोसँग चलाउने कुरामा सरकारले हामीले गरेका वाचाअनुसार पूरा गर्न सकेन । सरकार सञ्चालनमा जनतालाई राहत दिन सकेन । दोस्रो कुरा पार्टीले पनि निर्णय गरेको थियो, सुशासनको विषयमा पनि राजनीतिक प्रतिवद्धता जनाएका थियौँ । राजश्व अनुसन्धान, सम्पत्ति शुद्धीकरण, राष्ट्रिय अनुसन्धान विभाग लगायत प्रधानमन्त्रीको मातहतबाट हटाउने भनेर तर अहिले पनि प्रधानमन्त्री कार्यालय मातहतमा राखिएको छ । त्यो हाम्रो प्रतिवद्धता विपरीत भयो,' उनले भने । 



केन्द्रीय सदस्य पोखरेलले सरकारले व्यापक रूपमा नीतिगत भ्रष्टाचार गरेको बताए । 'देशमा बजेट बनाउनेदेखि पछिल्ला चरणमा चरम रूपमा आर्थिक सुशासनको खिल्ली उडाइएको छ । व्यापकरूपमा नीतिगत भ्रष्टाचार गरिएको छ । यसलाई जतिसक्दो चाँडो रोक्नुपर्छ । पर राष्ट्र नीतिमा हाम्रो पार्टीले पनि पहिलाबाटै सबैको साझा नीति बनाउनुपर्छ भनेका छौँ । त्यसमा सफल हुन सकेन,' उनले भने ।  

बैठकले हरेक प्रदेश र पालिकामा कांग्रेसलाई बलियो बनाउने र पार्टी विधानअनुरुप चल्ने कुरामा पनि जोड दिएको बताए । 'यसविरुद्ध हामी हरेक प्रदेश पालिका, सबैतिर परिचालन गरी कांग्रेसलाई बलियो बनाउने पार्टी विधानअनुरुप चलोस् भनेर दबाब दिने कुरामा छौँ,’ उनले भने ।



बिहीबार र शुक्रबार दुई दिनसम्म चलेको भेलामा कोइरालासहित पार्टी महामन्त्री गगन थापा, सहमहामन्त्री जीवन परियार, कानुन न्याय तथा संसदीय मामिला मन्त्री दिलेन्द्रप्रसाद बडू, डा चन्द्र भण्डारी, बलबहादुर केसी, जगदीशनरसिंह केसी, डा. रामशरण महत, सञ्जय गौतमलगायत नेता सहभागी थिए ।

  • प्रकाशित मिति : असार १७, २०७९ शुक्रबार २०:२७:५५

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई farakdhar@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया